News

सर्तसहित राप्रपा सरकारमा जाने, को को वन्दैछन् मन्त्री ?

सर्तसहित राप्रपा सरकारमा जाने, को को वन्दैछन् मन्त्री ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागि हुन। राष्ट्रिय एकता दिवसलाई पहिलो सर्त बनाएको छ । पुस २७ गते एकता दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाएर सार्वजनिक बिदा दिए मात्रै पार्टी सरकारमा जाने वताईएको छ।

राप्रपाको गत बुधबार बसेको कार्यसम्पादन समिति बैठकमा सरकारका जाने वा नजाने विषयमा छलफल भएको थियो । उक्त बैठकले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डाहरू समावेश भएको खण्डमा सरकारमा सहभागी हुने औपचारिक निर्णय लिएको छ ।

पार्टीले राष्ट्रियता, स्वाधीनता, सुशासन, विकास र सेवा प्रवाह गरी ५ विषयमा रहेर आफ्ना एजेन्डा प्रस्तुत गर्ने निर्णयसमेत गरेको छ । पार्टी उच्च स्रोतले पुस २७ गते सार्वजनिक बिदा घोषणा गर्नुपर्ने विषयलाई न्यूनतम शर्तका रुपमा गठबन्धनसमक्ष राखिएको जानकारी दियो ।

विहिवारको सत्तासाझेदार नेताहरूको उच्चस्तरीय बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । उक्त बैठकमा पनि उनले आफ्नो पार्टीले लिएको निर्णयबारे जानकारी गराएका छन् । यसअघिका बैठकहरूमा पनि लिङदेनले एकता दिवसको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन् ।

एकता दिवसमा बिदा दिनेबारे सत्ता साझेदार पार्टीहरु द्विविधामा छन् । सर्तसहित सरकारमा जाने निर्णय गरेको राप्रपाले मन्त्री बन्ने सूची बने बनाइसकेको छैन । सत्ता गठबन्धनबाट राप्रपाले बढीमा तीवटा मन्त्रालय पाउने सम्भावना छ । अहिलेसम्म दुईवटा मन्त्रालय राप्रपालाई दिन सकिने सत्ता गठबन्धनका नेताहरूबीच छलफल भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पाँचवटा मन्त्रालय मागेका कारण राप्रपाले पनि बढ्ता मन्त्रालय दाबी गर्ने अवस्था रहेको छ । तर, रास्वपालाई कम मन्त्रालयमा झार्दा राप्रपालाई पनि दबाब पर्नेछ । राप्रपामा मन्त्रालयको टुंगो नलाग्दै मन्त्री बन्ने आंकाक्षीको सूची भने लामै छ ।

गृह मन्त्रालय लिएर अध्यक्ष राजेन्द्र लिङ्देन नै सरकारमा जाने तयारी थियो । तर, लिङ्देनले गृह मन्त्रालय नपाउने भएपछि उनी सरकारमा जाने कि नजाने टुंगो लागेको छैन । उनी परराष्ट्रमन्त्री लिएर सरकारमा जान सक्ने चर्चा पनि चलेको छ ।

अध्यक्ष लिङ्देनको विषयमा टुंगो नलागेकै बेला उपाध्यक्षहरू बुद्धिमान तामाङ, बिक्रम पाण्डे र धुव्रबहादुर प्रधान, महामन्त्री धवलशमशेर राणा पनि मन्त्रीका आंकाक्षी छन् । पहिला पनि मन्त्री भइसकेका पाण्डे र तामाङलाई यो पटक पठाउन नहुने र नयाँ अनुहार सरकारमा जानुपर्ने तर्क पनि पार्टीभित्र रहेको राप्रपाका एक नेताले बताए । 
 

विशेष