News

१८ तले क्यासिनोमा आगलागी, १२औं तलाबाट हामफाल्दा झापाका निराकारको मृत्यु

१८ तले क्यासिनोमा आगलागी, १२औं तलाबाट हामफाल्दा झापाका निराकारको मृत्यु

कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी झापाका विर्तामोडका ४० वर्षीय निराकार पाण्डेसहित कम्तीमा १९ जनाको मृत्यु भएको छ। दर्जनौ बेपत्ता भएका छन्। आगलागीमा परी ७० जना घाइते भएका छन्।

क्यासिनोमा आगो लाग्दै गएपछि पाण्डेले १८ तले सो क्यासिनोको १२ औं तलाको कोठाबाट परिवारसँग भाइबरमा लाइभ भिडिओ कुराकानी गरेका थिए। पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, दाइ र भाइहरूसँग कुरा गरेका थिए। उनले परिवारसँग लगभग एक–डेढ घन्टा भिडिओमा कुरा गरे।

अग्नि पाण्डे बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष हुन्। निराकारले भिडिओमा कुरा गरेपछि परिवारमा रूवाबासी भयो। परिवारले हाम नफाल्न बरू माथिल्लो तलामा जान सम्झाएको थियो। कम्बोडियामै रहेको निराकारको साथीले पनि हाम नफाल्न र छतमा जान सुझाएको वताईएको छ। 

निराकारले हेटौंडामा रहेका भाइ–बुहारीलाई पनि फोन गरेको जनाईएको छ। भाइसँग कुरा हुन नसकेपछि बुहारी कुरा गरेका थिए। पाण्डेले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँग अन्तिम समयमा गरेको भिडिओ कुराकानीमा उनले छोरासँग कुरा गर्दै गर्दा तल होटल परिसरमा दमकलको साइरन सुनिन्छ। कोठाभित्र धुँवा छिर्न थालेको देखिन्छ। 

अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भनेका छन्– ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू।’ त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’

परिवारसँग कुरा गरिसकेपछि पाण्डेले झ्यालबाट हामफालेको र उनको मृत्युको पुष्टि भएको जनाईएको छ। कम्बोडियामै रहेका उनका साथी सुरेन्द्र श्रेष्ठले पाण्डेको मृत्यु भएको पुष्टि गरेका छन्। पाण्डे एक महिनाअघि कम्बोडिया पुगेका थिए । उनी यसअघि पनि करिब ३ महिना कम्बोडियामा बसेर नेपाल फर्किएका थिए ।

आगो निभाउन १२ घण्टाभन्दा बढी समय लागेको थियो। थाइल्याण्डका वारूणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए। घटनास्थलमा करिब ३०० प्रहरी, ११ दमकल र केही हेलिकप्टर तैनाथ गरिएको बन्तेय मेन्चे प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल सिथी लोहले जानकारी दिए। आगलागीको कारण भने खुल्न नसकेको उनले बताए। 
 

विशेष