News

अशोक राईले पार्टी फुटाउन खोजेकै वेला उपेन्द्र पुगे खनाल निवास, एकता वारे छलफल

अशोक राईले पार्टी फुटाउन खोजेकै वेला उपेन्द्र पुगे खनाल निवास, एकता वारे छलफल

अशोक राई लगायतका नेताले पार्टी विभाजनको तयारी गरिरहेका वेला जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटबार्ता भएको छ।

खनाल निवास डल्लुमा भएको दुई नेताबीचको छलफलमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाईएको छ। यादवले खनालसँग त्रिसंकु संसद बारे चिन्ता र वाम एकताका विषयमा कुरा गरेका थिए ।

‘हामीले अहिलेको घटनाक्रमबारे छलफल गर्यौं। यादवजीले अहिलेको त्रिशंकु संसदबारे चिन्ता जनाउनुभयो,’नेकपा एसका सम्मानित नेता खनालले भने,‘वाम एकता गरेर अघि बढ्नुपर्ने यादवजीको सुझाव थियो। उहाँले सत्ताका लागि भन्दा पनि स्थायित्वको लागि सहकार्य हुनुपर्छ भन्नुभयो।’

अहिलेको सत्ता गठबन्धनबारे भने कुनै छलफल नभएको खनालले बताए। यता जसपाका संघीय परिषद अध्यक्ष अशोक राई समुहले पार्टी विभाजन गर्ने तहमा तयारी गरिरहेको श्रोतको दावी छ। पहिलो वरीयतामा रहेका राईलाई अध्यक्ष यादवले संसदीय दलको नेता बन्न अवरोध गरेपछि पार्टी भित्र विवाद तिव्र रुपमा चुलिएको छ।

राई सर्वसम्मत रुपमा दलको नेता वन्ने तयारीमा थिए। तर, उपेन्द्र यादवले आफना विश्वास पात्र राम सहाय यादवलाई दलको नेतामा अगाडि सारेपछि राई विच्किएका छन्। जसका कारण राई पछि हटे र गत बुधवार संसदीय दलको नेतामा पार्टीको राजनीतिक समिति सदस्य यादव निर्विरोध भए। 

पार्टी स्रोतका अनुसार राई चुनाव अगाडि नै एमाले प्रवेशको तयारीमा थिए। तर, गठबन्धका लागि उनले बढाएको प्रयास सफल हुने भएपछि उनी रोकिए। निर्वाचन अघिबाटै शुरू भएको राई र यादव टकराव निर्वाचन सम्पन्न भएपछि अझ प्रष्ट रुपमा देखियो।

त्यसमाथि संसदीय दलको नेता बन्ने बाटो थुनेर उपेन्द्रले पहिलो वरीयताका अध्यक्षलाई पार्टीमा कमजोर बनाएको राई पक्षका नेता बताउँछन्। उनलाई राजकिशोर यादव र प्रदीप यादव लगायतले साथ दिएका छन्। उनीहरू थप सांसदलाई आफूतिर तान्ने र संसदीय दल तथा केन्द्रीय समितिमा ४० प्रतिशत पु-याएर जसपा विभाजन गर्ने योजनामा उनीहरु रहेको स्रोतको दाबी छ। 

यो पनि,

विशेष