News

प्रचण्डलाई भेट लगत्तै ओलीलाई भेट्न किन अतालिए रवि लामिछाने ?

प्रचण्डलाई भेट लगत्तै ओलीलाई भेट्न किन अतालिए रवि लामिछाने ?

बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका रवि लामिछाने दिउँसो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने विषयमा छलफलमा लागेका हुन।

सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगो लागिनसकेका कारण छलफल गर्दै आएका छन् । ओलीसँगको भेट पनि मन्त्रालयको भागबण्डालगायत विषयमा केन्द्रित भएको स्रोतले बताएको छ । 

स्रोतका अनुसार उनिहरुबीच सरकारका नीति तथा कार्यक्रम, प्रधानमन्त्रीको विश्वासको मत, मन्त्रीमण्डल विस्तार र शक्ति बाँडफाँडको विषयमा छलफल भइरहेको छ। प्रधानमन्त्री दाहाल र लामिछानेबीच शनिबार बिहान समसामयिक विषयमा छलफल भएको थियो।

लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच कसरी पु¥याउन सकिन्छ, सरकारका काम कारबाही प्रभावकारी ढंगले कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग छलफल गरेका छन्। 

सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीति, शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको विषयमा प्रचण्ड–ओली र लामिछानेबीच निरन्तर संवाद भइरहेको छ। नयाँ सत्ता गठबन्धनमा एमाले पहिलो, माओवादी दोस्रो र रास्वपा तेस्रो दल हो। 

प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको पहिलो बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाउने निर्णय गरेको थियो। उक्त संयन्त्रमा माओवादी केन्द्रबाट वर्षमान पुन र रास्वपाबाट डा. मुकुल ढकाल, राप्रपाबाट डा. धवलशमशेर राणा रहने भएका छन्।

समितिमा जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीबाट पनि सदस्य थपिने भएका छन्। बैठकमा उनीहरूको उपस्थिति नभएको कारणले सदस्य नतोकिएका हो। 
 

विशेष