News

चीनको वहानवाजीले अस्तित्वविहिन भयो तातोपानी नाका

चीनको वहानवाजीले अस्तित्वविहिन भयो तातोपानी नाका

कोरोनाको वहानामा चीनले सुरु गरेको अघोषित नाकावन्दीका कारण नेपालको ब्यपार÷ब्यवसाय चौपट छ। चीनसँग जोडिएका दुवै नाका अहिलेसम्म सहजरुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

चीनसँगको नेपालको सबैभन्दा पुरानो नाका तातोपानी भन्सार आंशिक रूपमा आयात खुला भएपछि विगत सात वर्षदेखि निर्यात ठप्प छ। चीनले विभिन्न बहाना बनाएर नाका खोल्ने र बन्द गर्दै आएको छ । पछिल्लो पटक कोरोनाको वहानामा वन्द भएको नाका अहिलेसम्म खुलेको छैन।

तिब्बतमा कोरोना महामारीविरुद्ध लगाइएको निषेधाज्ञाको असर नेपाली क्षेत्रमा परेको छ । ल्हासा सरकारले नेपालतर्फ जाने कन्टेनर नरोक्न सीमाक्षेत्रका स्थानीय प्रशासनलाई परिपत्र जारी गरेपनि खासास्थित जाङ्मु पोर्ट प्रशासनले तातोपानी तर्फ कन्टेनर पठाउन रोक लगाएको छ । 

केरुङबाट दैनिक १ दर्जन सवारी साधन रसुवागढी पठाउने गरेपनि सिगात्सेबाट तातोपानी नाका आउने कन्टेनरलाई जाङ्मु प्रशासनले खासा पार्किङमा प्रवेश दिएको छैन । कन्टेनर नआउँदा तातोपानी नाकामा ट्रान्सपोर्टको काम गर्ने सिल्क, नमस्ते र रेवाङ कम्पनीका जनशक्ति तीन महिनादेखि अलपत्र  छन । केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने र पुलमा सामान झार्दा ड्यामेज भएर घाटा हुने भएकाले व्यापारीहरू तातोपानी नाकाबाट सामान ल्याउन चाहन्छन ।

रसुवागढीबाट सामान ल्याउँदा समय र लागत वढ्ने र तातोपानीबाट सामान आउनै नदिएपछि नेपाली ब्यापारी ब्यवसायीहरुले अहिले चीनबाट सामान ल्याउन रुचाएका छैनन् । नेपाल सरकारको विभिन्न च्यानलमार्फत तातोपानी नाकालाई सहज बनाउन अनुरोध गर्दा पनि सफल नभएपछि ब्यापारीले सामान मगाउन नसकेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए । 

आयात बढ्ला र लगानी उठाउँला भनेर बसेका क्यारिङ व्यापारी निराश भएसँगै कामदार र गाडीचालक पेसा छाडेर धमाधम घर फर्कन थालेका छन । तातोपानी नाकाबाट आयात–निर्यात दुवै खुला गर्ने विषयमा नेपाल–चीनका अधिकारीबीच समझदारी भएपनि कार्यान्वयन नभएको वस्नेतले वताए ।

गत सेप्टेम्बरमा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमण गरेका चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुले तातोपानी नाका खुला गर्ने विषयमा चीन सकारात्मक रहेको बताएका थिए । चान्सु फर्केसँगै नेपाल–चीन उच्च अधिकारीबीच नाकाबाट आयात निर्यात दुवै खुलाउने सहमति भएको थियो । तर, सहमति कार्यान्वयनमा नआउँदा सधैं गुलजार रहने नाका सुनसान भएको स्थानीय ब्यापारीहरु वताउँछन्।

विशेष