News

बालेन्द्र र भीम रावलको जुहारी, देशको चिन्ताकी जुँगाको लडाईँ ?

बालेन्द्र र भीम रावलको जुहारी, देशको चिन्ताकी जुँगाको लडाईँ ?

अमेरिकी रादूत डिन थम्पसनसँग भेटवार्ता गरेको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र नेकपा एमालेका नेता भीम रावलबीच भनाभन भईरहेको छ।

मेयर साहले शुक्रबार अमेरिकी रादूत थम्पसनसँग भेटवार्ता गरेपछि एमाले नेता रावलले कुटनीतिक मर्यादाको कुरा उठाएका थिए। उनले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर भेटेको कि नलिईकन भनेर सामाजिक सञ्जालमार्फत प्रश्न गरेका थिए। 

त्यसको जवाफ दिँदै मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमती लिएर आएपछि आफुले भेट दिएको वताएका थिए। ‘अमेरिकी राजदूतले हामीसँग पटकपटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं।’ 

मेयर साहले यही मौकामा रावलको आलोचना गर्न समेत भ्याए। ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन। उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामीचाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ।’ उनले भनेका छन्–‘र, थप एमसीसीमार्फत विद्युत विदेशीलाई बेच्नेभन्दा पनि त्यो विद्युत नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौँ।’

यसपछि रावलले मेयर साहलाई प्रति प्रश्न गरेका छन्। ‘म फेरि पनि बालेनजीलाई प्रश्न गर्छु – के तपाईंले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नुभएको हो। तपाईंले भन्नुभएझैं उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछि भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएको जानकारी तपाईंलाई कसरी भयो?’ रावलले सोधेका छन्–‘परराष्ट्र मन्त्रालयको पत्रबाट? फोनबाट वा इमेलबाट? पत्र वा इमेल भए त्यसको प्रतिलिपि वा फोनबाट भए स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस्।’

यस क्रममा रावलले आफ्नो प्रश्नको सीधा जवाफ नदिएर मेयर साहले असान्दर्भिक कुरा गरेको आरोप पनि लगाएका छन्। 

‘...बालेन साहजीले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको भए अनुमति लिएर भेटेको भन्ने सरल जवाफ दिएको भए त्यो जिम्मेवारपूर्ण पर्याप्त र इमान्दार जवाफ ठहरिन्थ्यो’ रावलले भनेका छन्, ‘तर उहाँले ‘तपाईंहरूजस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैन’ भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेबाट नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौं भन्ने मेरो भनाइले घोचेको हो कि?’

विशेष