News

दुई मुख्य दल मिलेर सरकार बनाउने कुरा उचित होइन, एमाले प्रतिपक्षमा वस्छः उपाध्यक्ष पौडेल

दुई मुख्य दल मिलेर सरकार बनाउने कुरा उचित होइन, एमाले प्रतिपक्षमा वस्छः उपाध्यक्ष पौडेल

मंसिर ४ को चुनावी अन्तिम नतिजा आउने तयारी हुँदै गर्दा सरकार गठनको विषय यतिवेला चर्चामा छ। कतिपयले गठवन्धनबाटै सरकार निर्माण हुने अनुमान गरिरहेका छन् भने कतिपयले भने एमाले–कांग्रेस वा एमाले–माओवादी मिलेर पनि सरकार वन्नसक्ने अनुमान गरिरहेको छन् ।

एमाले, कांग्रेस तथा माओवादीका नेताहरु चौतर्फी छलफल गरिरहेका छन। नेताहरुका भेटघाट र छलफलका समाचार पनि सार्वजनिक भईरहेका छन् । तर, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भने नेकपा एमाले सरकारमा जाने सम्भावना नरहेको वताएका छन्। 

एउटा अनलाईनमा अन्तर्वाता दिने क्रममा ‘माओवादीले गठबन्धन जारी राख्दै सरकार गठनका अरु विकल्प खुला राख्ने अर्थपूर्ण निर्णय गरेको छ । तपाईंंहरुसँग यसको केही सम्बन्ध छ ?’ भन्ने प्रश्नमा पौडेलले भनेका छन्–‘अहिले हामी चुनावको अन्तिम नतिजा पर्खाइमा छौं । अहिलेसम्मको नतिजा हेर्दा नेकपा एमालेलाई सायद जनताले प्रतिपक्षमा बस्नका लागि आदेश दिएका छन् । हामीले त्यो बुझेका छौं ।’

एमाले –माओवादी मिल्ने, वा एमाले–कांग्रेस मिलेर सरकार बन्ने कुनै सम्भावना नभएको पनि उनले वताएका छन् । ‘दुईवटा मुख्य दल मिलेर सरकार बनाउने कुरा उचित होइन । विगतमा संक्रमणकालीन बेला गरियो होला । सामान्य अवस्थामा त्यो मिल्दैन’ उनले भनेका छन्–‘बलियो प्रतिपक्ष भएन भने लोकतन्त्र ठिक ढंगले अघि बढ्दैन । एउटा सरकारमा बस्नुपर्छ, अर्कोले प्रतिपक्षमा बस्नुपर्छ ।’

माओवादीसँगको सहकार्यका विषयमा पौडेलले ‘एमाले झर्ला र खाउँला’ भन्ने पार्टी नभएको प्रतिक्रिया दिएका छन् । ‘हामी आफ्नो पौरखमा विश्वास गर्छौं । राष्ट्रिय राजनीतिमा आज एमालेको जुन उपस्थिति छ, यो नहोस् भनेर देख्न चाहनेहरु छन् नि । यो सबै घेराबन्दी बीच पनि जनमतमा एक नम्बर पार्टी भयौं’ उनी भन्छन्–‘त्यो जनमतको भरोसा गरेर नै अघि बढ्छौं । झर्ला खाउँला भन्ने होइन ।’
 

विशेष