News राजनीति

सरकार गठन र भागवण्डा मिलाउन गठबन्धनको बैठक बालुवाटारमा जारी

सरकार गठन र भागवण्डा मिलाउन गठबन्धनको बैठक बालुवाटारमा जारी

सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनमा रहेका चार दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन्। शीर्ष नेताहरू साँढे ३ बजेदेखि बालुवाटारमा छलफलमा जुटेको जनाईएको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाबाट भने दुर्गा पौडल बालुवाटारमा छलफलमा रहेको जनाईएको छ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत पनि वैठकमा सहभागी छन् । 

यि नेताहरु चुनावपछि पहिलो पटक सामूहिक छलफलमा जुटेका हुन्। मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । प्रत्यक्षतर्फ प्रतिनिधि सभामा कांग्रेसले ५७, माओवादीले १८, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ क्षेत्र जितेका थिए।

गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ । प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार चुनावी समीक्षा र नयाँ सरकार गठनबारे आज सामान्य रूपमा छलफल हुनेछ।

कांग्रेसले आफ्नै नेतृत्वमा सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथै लिएर अन्य दलको सहयोग जुटाएर नयाँ सरकार बनाउन पहल गरिरहेको छ। माओवादी अध्यक्ष दाहाल भने आफै प्रधानमन्त्री बन्ने दौडमा छन् । नेकपा माओवादीका कतिपय नेताले दाहाललाई प्रधानमन्त्री नस्विकारे गठवन्धन टुट्न सक्ने चेतावनी समेत दिएका छन्।
 

विशेष