News

रवि लामिछानेको नागरिक्ता र राहदानी छानविन गर्न अख्तियारले पनि लेख्यो पत्र

रवि लामिछानेको नागरिक्ता र राहदानी छानविन गर्न अख्तियारले पनि लेख्यो पत्र

नागरिक्ता प्रकरणमा विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा अख्तियारले पनि चासो देखाएको छ। 

चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता  र राहदानी  विवादबारे अनुसन्धान गर्न आयोगले पनि गृह र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। आयोगमा उजुरी परेपछि सम्बन्धित मन्त्रालयहरूलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

भण्डारीका अनुसार लामिछानेका विषयमा अख्तियारमा छुट्टै उजुरी परेको थियो। लामिछानेको नागरिकता र राहदानी विवादबारे गृह मन्त्रालयमा पनि उजुरी परेको छ। उक्त उजुरीपछि अहिले यो विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन प्रक्रिया थालेको छ। 

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य केही दिनअघि सार्वजनिक भएको थियो।

लामिछानेले पार्टी दर्ता गर्नेदेखि चुनाव लड्ने सम्मका सवै प्रकृयामा ०५० सालमा प्राप्त गरेको नागरिकतानै प्रयोग गरिरहेका छन्। विदेशी नागरिकता लिने भएपछि आफैंले नागरिकता त्याग्नुपर्ने ब्यवस्था भएपनि उनले निष्क्रिय भैसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको पाईएको छ।

मंसिर ४ गते भएको चुनावअघि नै लामिछानेको नागरिकताको विषय विवादित बनेको थियो। यसअघि लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै राजकुमार पाण्डेले पनि चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए।

तर आयोगले त्यसबारेमा निर्वाचन परिणाम प्रकाशित भइसकेपछि उम्मेदवारको अयोग्यतासम्बन्धी उजुरीको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाएको थियो। आयोगको यस्तो निर्णय आएपछि लामिछानेविरुद्ध गृहमन्त्रालयमा उजुरी परेको थियो। अहिले प्रहरीले अनुसन्धान गरिरहँदा लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पनि छिट्टै रिट दर्ता गर्ने तयारी रहेको उजुरीकर्ता युवराज सफलले बताए। त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो। 

उक्त उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। प्रशासनले यसमा छानबिन गर्न परिसरलाई पत्र पठाएको जनाएको छ। 

रवि लामिछाने

विशेष