News

इन्गेजमेन्ट तोडिएपछि केटाकै घरमा पुगेर किशोरीले गरिन आत्मदाह

इन्गेजमेन्ट तोडिएपछि केटाकै घरमा पुगेर किशोरीले गरिन आत्मदाह

इन्गेजमेन्ट गरेको केटाले विवाह गर्न असहमति जनाएपछि एक युवतीले केटाकै घरमा पुगेर आत्मदाह गरेकी छन्। यो फिल्मी स्टाईलको घटना आईतवार साँझ भएको हो।

काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएकी हुन्। प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो। त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो। सोमबार बिहान उनको मृत्यु भएको छ।

पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौला केही समयदेखि प्रेममा थिए। परिवारकै सहमतिमा विवाह गर्न उनीहरुको इन्गेजमेन्ट भएको थियो। तर, विवाहको मिति भने तय भएको थिएन। 

यद्यपी विवाहअघि घुमाउने, परिवारसँग बसेर रमाइलो गर्ने, एकअर्काप्रति माया गर्ने गरेका सुदनले इंगेजमेन्टपछि क्रमशः पुष्पालाई पटक–पटक मानसिक यातना दिएको र त्यसकै पीडा सहन नसकेर मर्न बाध्य पारेको मृतकका परिवारको आरोप छ ।

शनिबार मात्रै विवाह नगर्ने गरी इंगेजमेन्ट तोड्न सुदन, उनका बाबु दिनेश र आमा विन्दु संग्रौला पुष्पाको परिवारलाई भेट्न पुगेका थिए । त्यसपछि इंगेजमेन्ट गर्दा आदानप्रदान गरिएका गरगहना र जनैसुपारी फिर्ता लिएर केटा पक्ष निस्किएको थियो । परिवारका अनुसार इंगेजमेन्टअघि केटा र परिवार सबैले राम्रो व्यवहार गरेका थिए । दुवै परिवारबीच आउजाउ हुन्थ्यो । तर, त्यसपछि भने मानसिक यातना दिने, अनावश्यक शंका गर्ने, अविभावकलाई फोन गरेर अनावश्यक तनाव दिने गर्न थालेका थिए।

धाकधम्की दिनेसम्मका पनि व्यवहार भएको उनीहरुको भनाई छ। त्यही क्रममा शनिबार इंगेजमेन्ट तोडिएको थियो, त्यसको भोलिपल्ट किशोरी केटाको घरनजिकै जलेको खबर आयो। पुष्पा जलेको खबर पनि केटाका बाबु दिनेशले दिएको जनाईएको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी हुन्। पुष्पाका परिवारले सुदनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेर दिएका थिए।

आइतबार राति नै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। तर अदालतले सुदनविरुद्ध मात्रै सोमबार म्याद दिएको छ। सुदनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न महाराजगन्ज वृत्त प्रहरीले अनुमति पाएको छ। 
 

पुष्पा न्यौपाने

विशेष