News

पाल्पाको चिर्तुङधारामा विहेको भोज खाँदा ८० जना विरामी

पाल्पाको चिर्तुङधारामा विहेको भोज खाँदा ८० जना विरामी

पाल्पाको बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा निवासी दानबहादुर गाहाकी छोरीको बिहे भोज खाएका करिव ८० जना स्थानीयवासी विरामी परेका छन् । चिर्तुङधारास्थित बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका सर्वसाधारण बिरामी परेका हुन् ।

बिरामी भएकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको छ। अधिकांशलाई औषधि वितरण गरिएको छ । तर औषधिले काम नगरेपछि स्थानीय स्वास्थ्य संस्था, तानसेनका निजी स्वास्थ्य संस्था र मिसन अस्पतालमा पुगेका थिए ।

मिसन अस्पतालका अनुसार सोमबार २२ जना बिरामी उपचारका लागि आएका थिए । त्यसमध्ये चार जनालाई भर्ना लिएर उपचार गर्नु परेको छ । अस्पतालका व्यवस्थापकका अनुसार सबै बिरामी खतरामुक्त भएपछि घर गएका छन् ।

वडाध्यक्ष शेरबहादुर रानाका अनुसार बिहे भएको घरमा गएर भोज खाने प्रायः सबै बिरामी परेकाले समस्या आएको छ । के कारणले ‘फुड पोइजन’ भयो भन्ने अनुमानसमेत गर्न नसकेकिएको वडाध्यक्ष रानाले बताए । यहाँ प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती आएका थिए ।

भोजमा पाडा (राँगो) को मासु, पुलाउ, आलु र गोभीको तरकारी, मेवाको अचार, बटुक, आलु मुलाको अचार थियो । कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरेका छन् । प्यूठानमा समेत भोज खाएर गएकाहरु बिरामी परेका छन् । जन्ती आएका प्यूठानका एकै गाउँका ४५ जना बिरामी परेका छन् । 
 

विशेष