News

झापाबाटै देउवालाई विश्वप्रकाशको चुनौतीः संसदीय दलको नेताको दाबी छाड्नोस

झापाबाटै देउवालाई विश्वप्रकाशको चुनौतीः संसदीय दलको नेताको दाबी छाड्नोस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताबाट पाखा लगाउन खोजेका छन् ।

संसदिय दलको नेतामा अर्का महामन्त्री गगन थापालाई सहयोग गर्ने वचन दिएका शर्माले आज औपचारिक रुपमै देउवालाई दलको नेताको दौडबाट वाहिर निस्कन आग्रह गरेका हुन। उनले संसदीय दलको नेताको दौडबाट बाहिरिए पार्टी पंक्तिमा देउवाप्रतिको सम्मान बढेर जाने टिप्पणी गरे।

कांग्रेसमा अबको नेतृत्व उमेरले नभई एजेण्डाले गर्नुपर्ने बताएका शर्माले एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी सभापति देउवालाई सम्मानजनक रुपमा आफूलाई संसदीय दलको प्रतिस्पर्धाबाट बाहिर सुझाव दिए ।

झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित शर्माले बुधबार बिर्तामोडमा प्रेस युनियन झापाको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने –‘पार्टी सभापतिले अब पनि प्रतिस्पर्धामा जुट्नुभन्दा सबैलाई अवसर दिने काममा लाग्नुपर्छ । पाँच पटक प्रधानमन्त्री भइसक्नु भएका उहाँले अब फेरि म प्रधानमन्त्री हुन्छु भन्नुभन्दा पार्टीका अन्य नेतालाई पनि अवसर दिनुपर्छ भन्नेतिर लाग्नुभयो भने उहाँप्रतिको सम्मान दोब्बर भएर जान्छ ।’

देउवाले पद लिने भन्दा आफूप्रतिको सम्मान दोब्बर बनाउनेतिर लाग्नुपर्ने उनको सुझाव छ । यो सुझाव देउवालाई काठमाडौंमा भेटेरै पनि दिने उनले वताए ।

शर्माले संसदीय दलको नेता अर्का महामन्त्री गगन थापालाई बनाउनुपर्ने पनि प्रस्ताव गरेका छन् । उनले थापालाई दलको नेता बनाउने गृहकार्यमा आफू लागिसकेको समेत बताए ।

विशेष