News

समानुपातिक मतगणना सकियो, रविको पार्टीले पायो १३ सिट

समानुपातिक मतगणना सकियो, रविको पार्टीले पायो १३ सिट

मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभाको सम्पुर्ण मत गणना सकिएको छ। प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना सकिएसँग मतगणनाको काम सकिएको हो।

योसँगै समानुपातिक तर्फ निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या पनि टुंगो लागिसकेको छ । तर, घोषणा गर्न भने बाँकी छ। कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ र नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित ३४ सिट पाएर पहिलो दल बनेको छ ।

प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । यसअनुसार उसले ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।

माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मतसहित १४ सिट पाउनेछ । प्रत्यक्षतर्फको १८ सिटसहित उनको ३२ सिट पुग्छ ।

रास्वपाले ११ लाख ३० हजार ३४४ मतसहित १३ सिट पाउने छ । उसले प्रत्यक्षतर्फ ७ सिट जितेको छ। राप्रपाले ५ लाख ८८ हजार ३१३ मतसहित ७ सिट पाएको छ। प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।

उपेन्द्र यादव नेतृत्वको जसपाले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ र ५ सिट पाउनेछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने थ्रेस होल्ड कटाउन सकेन । सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले भने जसपाकै सरह ५ सिट पाउने भएको छ । उसले समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ ।

प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा, ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी र एक–एक सिट जितेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने थ्रेसहोल्ड कटाउन सकेनन् ।

समानुपातिकतर्फ सबभन्दा थोरै भोट पाउने सुदीप रुवाली नेतृत्वको नेश्नलिस्ट पिलल्स पार्टी भएको छ। उसले २ हजार १८ मत मात्र पाएको छ । विवेकशील साझा पार्टीले ४ हजार ४९ मत पायो भने कमल थापा नेतृत्वको राप्पन नेपालले १२ हजार ३४० मत पाएको छ ।

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १८ हजार ५९, नेकपा मालेले ३० हजार ५९९ मत पाउँदा राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ मत पाएको छ । नेपाल मजदुर सकिसान पार्टीले ७५ हजार १६८ मत पाएको छ । 
 

विशेष