News

बलात्कारको आरोप लगाउने श्रीमती विरुद्ध न्यायाधीशले दिए ‘चोरी’को उजुरी

बलात्कारको आरोप लगाउने श्रीमती विरुद्ध न्यायाधीशले दिए ‘चोरी’को उजुरी

आफनै श्रीमतीले बन्धक बनाएर बलात्कारको आरोप लगाएपछि कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरिले उनी विरुद्ध पनि चोरीको आरोप लगाएका छन् ।

न्यायाधीश गिरीले महिलाविरुद्ध चोरीको उजुरी दिएको कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेतले बताए । उनले भने–‘महिलाले बलात्कारको उजुरी दिनुभएको छ, दुवै उजुरीबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।

पीडित महिलाले सुरुमा दिएको बलात्कारको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो । त्यो विषयमा नेपाल आजले मंसिर १० गते ‘न्यायाधिश नै परे विवादित कानुनको फन्दामा !’ भन्ने शिर्षकमा समाचार लेखेको थियो। प्रहरीले जाहेरी दर्ता नगरेपछि ती महिलाले एक साताअघि राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा पनि उजुरी गरिन् ।

दुवै आयोगले प्रहरीलाई जाहेरी दर्ता गर्न पत्राचार गरेका छन् । न्यायाधीश गिरीले आफूलाई ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको महिलाको आरोप छ । पीडित महिला २०७५ देखी न्यायाधीशसँगै थिइन् ।

पीडित महिलाले आफु गिरीको कान्छि श्रीमती भएको दावी गरेकी छिन् । आफुमाथि वैवाहिक बलात्कार भएको, अप्राकृतिक यौन सम्बन्ध राखेको र घरेलु हिंसा गरेको आरोप उनको छ।

पीडित महिलाका अनुसार विवाह गर्दा न्यायाधीश गिरी कोहलपुरको एक सरकारी कार्यालयमा उपसचिव थिए । महिलाको माइती नेपालगन्ज हो । सामाजिक सञ्जालबाट आफुहरु नजिकिएको ती महिलाले बताइन् ।

न्यायाधीश गिरीले आफूलाई ०७५ साल बैशाखमा दोस्रो श्रीमतीको रुपमा विवाह भित्र्त्याएको उनले वताएकी छिन्। न्यायाधीश गिरी ४ सन्तानका बुवा हुन् । ‘मैले विवाह गर्न मानेकी थिइन । घरमा भएकी श्रीमती बिरामी भइराख्छिन् सहमतिमै अंशबन्डा गरेर तिमीलाइ भित्र्याउँछु भन्नु भएको थियो। तिमी नभए झुन्डेर मर्छु भन्दै सुसाइट नोटसमेत देखाउनु भयो’ उनले भनिन–‘दवाव भएपछि भारतको अयोध्या पुगेर हिन्दु परम्परा अनुसार बिवाह गर्यौ। विवाहमा मेरा परिवारका सदस्य पनि थिए।’

बहु विवाहको अपराधबाट उम्किन गिरीले जेठी श्रीमतीसँग अंशबन्डा समेत गरेको र ३५ लाख नगदसहित अन्य धन सम्पत्ति पनि दिएको उनले वताएकी छिन् । तर, विवाहपछि लगातार शारीरिक तथा मानसिक यातना दिने, यौन शोषण गर्ने गरेकाले आफु पीडामा परेको उनको भनाई छ।

गिरीले आफुलाई यौन इच्छा पुरा गर्ने वस्तुको रुपमा मात्रै प्रयोग गरेको उनको आरोप छ। विवाह भएदेखि हालसम्म दुई पटक गर्भपतन गराएको बताएकी छिन्।

हाल श्रीमानसँग आफूले सन्तानको चाहाना राखेपछि पुनः कुटपिट गर्न थालेको उनको भनाई छ। पीडित महिलाले अहिले आफू असुरक्षित भएको पनि बताएकी छन् । 

आफूविरुद्ध उजुरी गर्ने महिलाविरुद्ध पनि चोरीको आरोप लगाएर न्यायाधीश गिरी बिदामा बसेका छन् । बलात्कार मुद्दाबारे अनुसन्धान गर्न राज्यका विभिन्न निकायबाट लेखेर आएको एसपी बस्नेतले जानकारी दिए । 

यो पनि,

न्यायाधिश नै परे विवादित कानुनको फन्दामा !

भुवन गिरी

विशेष