News

महाकाली नदीमा अनधिकृत संरचना बारे अनावश्यक हल्ला भएको सिडिओको दावी 

महाकाली नदीमा अनधिकृत संरचना बारे अनावश्यक हल्ला भएको सिडिओको दावी 

भारतले महाकालीको बहाव नेपालतर्फ धकेलेर अनधिकृत पक्की संरचना बनाएको विषयमा दार्चुलाका सिडिओले अनाबश्यक हल्ला भएको वताएका छन् । उक्त विषयमा कतिपय सञ्चारमाध्यम र राजनीतिक दलहरुले तथ्य नबुझेरै हल्ला गरेको उनको भनाई छ।

जानकारी अनुसार भारतले विगत दुई वर्षदेखि दार्चुला सदरमुकामको पारीपट्टी पर्ने धार्चुला सहरलाई सुरक्षित गर्नका लागि दुई किलोमिटर तटबन्ध निर्माण कार्य गरिरहेको छ। यसअघि नेपाल सरकारले पनि आफ्नो क्षेत्रमा चार किलोमिटर जति तटबन्ध निर्माण गरेको थियो। दार्चुलाका सिडिओ दिर्घराज उपाध्यायले काठमाडौंमा बसेर तथ्य नबुझेरै अनावश्यक हल्ला फैलाएको बताएका छन्।

‘पहिला हाम्रो तर्फबाट पनि तटबन्ध निर्माण भएको थियो’ उनले भने–‘विगत दुई वर्षदेखि दार्चुलाको सदरमुकाम पारी भारतले बनाउँदैछ।’ पानी बगिरहेको ठाउँमै तटबन्ध निर्माण गर्न सम्भव नहुने हुँदा नदीलाई थोरै डाइभर्ट गरेर निर्माण कार्य गर्नुपर्ने भएकोले भारतले त्यही गरेको पनि उपाध्यायले बताए।

‘नदी बगेको साइडबाट अलि डाइभर्ट नगरेर तटबन्ध बनाउन मिल्दैन। नदी डाइभर्ट गर्दा नदीको बहाव नेपालतर्फ आउने हो कि भन्ने चिन्ता र आशंकाका कारण नेपालीहरुले सांकेतिक विरोध गरेका हुन्’– उनले भने। 

भारतले तटबन्ध बनाएको विषयमा नेपालीहरुले आपत्ति नजनाएको पनि उनले बताए। ‘हामीले पनि यसअघि तटबन्ध निर्माण गरिसकेका कारण भारतले तटबन्ध बनायो भन्ने कुरामा आपत्ति होइन’ उनले भने–‘तटबन्ध निर्माण गर्दा पानीको बहाव नेपालतर्फ नआओस् भनेर सचेत गराइएको हो। यसअघि असोज २४ गते मात्रै ठूलो बाढी आएर नोक्सान भएको छ। त्यो आशंका भएका कारण सांकेतिक विरोधस्वरुप ढुंगा हानिएको हो।’

खोला वारीपारी ढुङ्गा हानाहान भएको भन्ने विषय नै अनौठो भएको उनले वताए । ‘महाकाली वारीबाट हानिएको ढुंगा पारी पुग्ने कुरा हुँदैन’ उपाध्यायले भने, ‘त्यो सूचना पाएलगत्तै हामीले समन्वय गरेर भारतीय प्रशासनसँग बसेर तपाईंहरु अहिले नेपालतर्फ पानी डाइभर्ट हुने गरी काम नगर्नोस भन्यौ। विवाद नभएको ठाउँमा काम गर्न हामीले भनेका छौं।’

उक्त घटनामा कोही पनि घाइते नभएको उनले जानकारी दिए।  ‘यहाँ त्यस्तो ठूलो कुनै ढुंगामुढा नभएको र समाचारमा भनिएजस्तो कोही पनि घाइते भएका छैनन्। त्यो एक सांकेतिक विरोध मात्रै थियो। दुबै पक्ष बसेर सहमतिमा नै काम गर्ने भन्दै समस्या समाधान भइसकेको छ’– उनले भने।

यसअघि तटबन्ध निर्माण गर्ने समयमा नै नदीमा जम्मा भएको डेब्रिस हटाएर काम गर्दा नदी बग्न सहज हुन्छ र धार परिवर्तन हुँदैन भन्ने सहमतिपछि नै काम सुरु भएकोले अहिले सोही समति अनुसार नै काम गर्ने र दुबै पक्षको सहमतिमा काम अघि बढाउने गरी सहमति गर्दै समस्या समाधान भइसकेको उनले जानकारी दिए। 

विशेष