News

सर्वोच्च फर्कन लागेका चोलेन्द्रलाई अवरोध गर्ने बारको तयारी, झडपको आशंका (पत्रसहित)

सर्वोच्च फर्कन लागेका चोलेन्द्रलाई अवरोध गर्ने बारको तयारी, झडपको आशंका (पत्रसहित)

आफुविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च जाने तयारीमा छन् ।

तर, उनलाई रोक्न सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतको मुख्य गेटमा अवरोध गर्ने तयारी सुरु गरेको छ । ‘हामी प्रदर्शनको तयारीमा छौं, हामी जबरालाई सर्वोच्च प्रवेश गर्न दिँदैनौं,’ सर्वोच्च बारका सदस्य डा. रामहरि त्रिपाठीले भने ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजैदेखि नियमित कामकाजमा फर्किने तयारी गरेपछि सर्वोच्च बारले अवरोधको तयारी गरेको हो । नेपाल बार एशोसिएसनले संघीय संसदका महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनु असंवैधानिक भएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद सचिवालयले लेख्नै नमिल्ने पत्र लेखेको बताएका छन् ।

यता, सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ । मंगलबार निधन भएका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न सर्वोच्चका न्यायाधीशहरुको बैठक बोलाइएको थियो। त्यही बेला संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवाको पत्र दिएका छन् ।

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकियो र नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए ।

बुधबार संसदका महासचिव डा. भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएका छन् ।  प्रधानन्यायाधीश जबराले सुरक्षा व्यवस्थाको तयारी गरेर आजैदेखि काममा फर्कने बताएका छन् ।

विशेष