मधेशमा प्रभु साह फ्याक्टर: एमालेको १० लाख र जसपाको सवा लाख मत घट्यो
काठमाडौं- मधेस प्रदेशका प्रभावशाली नेता प्रभु साह स्वतन्त्र चुनाव लड्दा नेकपा एमालेलाई १० लाख र जनता समाजवादी पार्टीलाई एक लाख २५ हजार मतको क्षति भएको छ।
नेकपा माओवादीबाट नेकपा एकता हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रहेका प्रभु साहले यस निर्वाचनमा विद्रोह गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रभुलाई प्रयोग गर्न खोजेपछि एमालेबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए।
एमालेको टिकट बहिष्कार गरेर रौतहट-३ बाट स्वतन्त्र उम्मेदवार बनेका साहहले अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशलाई सात हजार मतान्तरले पराजित गर्दै चौथो पटक निर्वाचित भएका हुन्। उनले ३२ हजार ४३७ मत पाए।
जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको भन्दै साहले एमालेको टिकट बहिष्कार गरेका थिए। नेकपा विभाजन हुँदा उनले एमाले रोजेका उनी यसअघि २०६४, २०७० र २०७४ सालमा माओवादीबाट निर्वाचित भएका थिए।
प्रभु शाहको विद्रोहले मधेसमा नेकपा एमालेलाई प्रत्यक्षमा मात्र नभएर समानुपातिक मतमा पनि ठूलो नोक्सान भएको छ। एमालेले स्थानीय तह निर्वाचनमा कुल ३८ लाख ९ हजार ६९८ मत प्राप्त गरेको थियो भने मंसिर ४ गते भएको निर्वाचनमा भने २८ लाख ४५ हजार ६४१ मत मात्रै प्राप्त भएको छ।
त्यसैगरी जनता समाजवादी पार्टीले स्थानीय तहमा ५ लाख ५७ हजार ५२४ मत प्राप्त गरेको थियो भने आम निर्वाचनमा चार लाख २१ हजार ३१४ मत प्राप्त गरेको छ। प्रभु साह फ्याक्टर एमालेका लागि निकै भारी परेको यस तथ्यांकले देखाउँछ। उक्त तथ्यांकलाई हेर्दा एमालेलाई ७ प्रतिशत र जसपालाई एक प्रतिशत मतमा क्षति भएको देखिन्छ।