News विदेश

मृतकका बुबालाई गोली हान्न लगाएर हत्यारालाई मृत्यदण्ड

मृतकका बुबालाई गोली हान्न लगाएर हत्यारालाई मृत्यदण्ड

अफगानिस्तानमा हत्यामा दोषी ठहर एक अभियुक्तलाई मृतकका बुबालाई गोली हान्न लगाएर सार्वजनिक स्थानमा मृत्युदण्ड दिइएको छ। तालिबान सत्तामा फर्किएयता मृत्युदण्ड दिइएको यो पहिलो घटना हो।

तालिबानका प्रवक्ताले देशको दक्षिणपश्चिमी फराह प्रान्तस्थित एउटा रङ्गशालामा धेरै मानिस भेला भएको बेला त्यसरी मृत्यु दण्ड दिइएको बताएका छन्। ती अभियुक्तलाई मृत्युदण्ड दिन उनले हत्या गरेका व्यक्तिका बुवाले तीन पटक गोली हानेको तालिबानका प्रवक्ताको विज्ञप्तिमा उल्लेख छ।

मृत्युदण्ड दिइएको हेर्न तालिबानका अधिकारीहरू पनि उपस्थित थिए। अफगानिस्तानमा न्यायाधीशहरूलाई शरिया कानुनको पूर्ण पालना गर्न निर्देशन दिइएयता यसरी मृत्युदण्ड दिइएको हो।

मृत्युदण्ड दिएको हेर्न मन्त्री र न्यायाधीश उपस्थित
तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना शरिया कानुनअन्तर्गत सार्वजनिक स्थानमा मृत्युदण्ड दिइने, अङ्गच्छेदन गरिदिने र ढुङ्गाले हान्न लगाउने जस्ता सजाय कार्यान्वयन गर्न आदेश जारी गरेका थिए।

तर कस्तो अपराधमा कुन सजाय हुन्छ भन्ने विषयमा तालिबानले थप व्याख्या गरेको थिएन। तालिबान सत्तामा फर्किएपछि सार्वजनिक स्थानमा र रङ्गशालामा धेरै मानिसहरूका अगाडि कोर्रा लगाएर सजाय दिइने गरेको भए पनि मृत्युदण्ड दिइएको यो पहिलो घटना हो।

तालिबानका प्रवक्ता जबिबुल्लाह मुजाहिदका अनुसार मृत्युदण्ड हेर्न सर्वोच्च अदालतका न्यायाधीशहरू, सैन्य अधिकारीहरू र वरिष्ठ मन्त्रीहरू पनि सहभागी भएका थिए।

शरिया कानुनको कार्यान्वयन र व्याख्या गर्ने जिम्मेवारी पाएका तालिबानका सदाचार र दुष्कर्मसम्बन्धी मन्त्री मोहम्मद खालिद हनाफी पनि मृत्युदण्ड हेर्न उपस्थित भएका थिए। तर प्रधानमन्त्री हसन अखुन्द उपस्थित नभएको तालिबानको वक्तव्यमा उल्लेख छ।

क्षमादान दिन आमाले मानिनन्
तालिबानका अनुसार तज्मिर नाम गरेका व्यक्तिले पाँच वर्षअघि हेरात प्रान्तका गुलाम सर्वरका छोरालाई छुरी प्रहार गरेर मारिदिएका थिए।

उनलाई तालिबानका तीन तहका अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएका थिए। मृत्युदण्ड दिइनुअघि सर्वसाधारण नागरिकहरूलाई ‘रङ्गशालामा उपस्थित हुन सार्वजनिक सूचना’ जारी गरिएको थियो।

हत्या गरिएका व्यक्तिकी आमालाई तालिबान नेताहरूले दोषी ठहर भएका व्यक्तिलाई क्षमादान दिन अनुरोध गरे पनि आफूले मृत्युदण्डको सजाय हुनैपर्ने अडान राखेको उनले बताइन्।

‘तालिबानले ईश्वरका नाममा उसलाई माफी दिन मसँग भिक्षा मागेका थिए। तर मैले उसलाई मारेर मेरो छोरालाई जसरी नै पुर्नुपर्छ भन्ने जबाफ दिएँ,’ उनले भनिन्–‘अरूलाई पनि पाठ सिकाउन जरुरी छ। यसलाई छाडिदियो भने भविष्यमा अन्य अपराध पनि गर्न सक्छ।’

मृत्युदण्डबारे राष्ट्रसङ्घको चासो
यो मृत्युदण्डबारे संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले समेत गहिरो चिन्ता व्यक्त गरेको उनकी प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले बताइन्। अफगानिस्तानमा ‘हामी मृत्युदण्डको सजाय अन्त्यको माग गर्छौँ’– उनले भनिन्।

सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानको सत्तामा रहेको तालिबानले काबुलस्थित राष्ट्रिय रङ्गशाला समेतका सार्वजनिक स्थानमा मृत्युदण्ड दिने गरेको थियो। त्यस्तो कार्यका लागि उसको धेरै आलोचना पनि भयो।

तालिबानको शासनमा अफगानिस्तान
पुनः सत्तामा फर्किएको तालिबानले महिलाका अधिकार हनन नगर्ने दाबी गरे पनि महिला स्वतन्त्रता निकै साँघुरो बनाइएको छ र अधिकार माग गर्ने धेरै महिलालाई कुटपिट गरिएको छ।

अहिले कुनै पनि देशले तालिबानको सरकारलाई मान्यता दिएका छैन र छात्राहरूलाई उच्च शिक्षामा रोक लगाइएपछि विश्व ब्याङ्कले दिँदै आएको ६० करोड डलरको सहयोग रोकिएको छ। अफगानिस्तानको केन्द्रीय ब्याङ्कले विश्वका अन्य देशहरूमा राखेको अर्बौँ डलर पनि अमेरिकाले रोक्का गरिदिएको छ।
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।
 

विशेष