News

चोलेन्द्रलाई ‘क्लिनचिट’ दिने पत्र विरुद्धको सुनुवाई आज

चोलेन्द्रलाई ‘क्लिनचिट’ दिने पत्र विरुद्धको सुनुवाई आज

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई ‘क्लिनचिट’ दिने गरी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतमा हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्छ । आज गठन हुने संवैधानिक इजलासमा उक्त निवेदनको पेशी तोकिएको छ ।

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । त्यसविरुद्ध कानुन व्यवसायीहरुले सोही दिन सर्वोच्च परिसरमा धर्ना दिएका थिए ।

सर्वोच्चको पूर्ण बैठकले पत्र नै लेखेर कुन संवैधानिक र कानुनी आधारमा महाअभियोग निष्प्रभावी भएको हो भनेर संसदका महासचिवसँग जवाफ मागेको छ । सर्वोच्च अदालतको पत्रको जवाफ शुक्रबार नै संघीय संसदका महासचिव गौतमले दिनुपर्नेछ । 
 

विशेष