News

एलओडीको समाचार आएपछि पत्रकारलाई दुई टुक्रा पार्ने धम्की

एलओडीको समाचार आएपछि पत्रकारलाई दुई टुक्रा पार्ने धम्की

काठमाण्डौंको ठमेलस्थित एलओडी (लर्ड अफ द ड्रिंक्स) क्लवका बारेमा केही दिनअघि नेपाल आजले समाचार लेखेपछि एलओडीका सञ्चालकहरुले गुण्डा प्रयोग गरेर पत्रकारलाई धम्क्याउन थालेका छन् । 

नेपाल आजको फेसवुक पेजको इनबक्समा म्यासेज गरेर गालीगलौज गर्ने देखि पत्रकारलाई दुई टुक्रा पार्नेसम्मको धम्की दिन थालिएको छ। मंसिर १९ गते ‘चर्चित एलओडीको अँध्यारो पाटोः गुन्डा राखेर असुलिन्छ पैसा’ शिर्षकको समाचार प्रकाशन भएपछि अनिल खाँड ठकुरी नामका विद्वानले म्यासेजमा लेखे–‘ओई ... छोरा (अपसब्द) तेरो टाउको गिड्नु पर्ने दिन आयो होईन? कुनै दिन भेट होला, त्यो दिन खातेलाई दुई टुक्रा पार्छु।’ म्यासेजमा यस्ता धम्की र गाली धेरै छन् ।

स्वयम एलओडीका प्रतिनिधि सहदेव सेढाई समेतले फेसवुक पेजको कमेन्ट बक्समा गएर समाचारलाई झुठो सावित गर्ने प्रयास गरेका छन् । उनी लेख्छन्–‘सबैलाई नमस्ते, म एलओडीबाट प्रतिनिधित्व गर्दैछु,  म रात्रि जीवनमा लगभग एक दशकदेखि काम गर्दैछु।  यो विषय लेख्ने पत्रकार आफैं धेरै गलत छन। सबैलाई सुरक्षित बनाउन, राम्रो वातावरण बनाउन, प्रत्येक ग्राहकलाई सुरक्षा दिन क्लबहरूको आफ्नै सुरक्षा टोली छ जसलाई बाउन्सर भनिन्छ तर ‘गुंडा’ उपाधि दिनु सहि निर्णय हो? मैले पत्रकारसँग  ३० सेकेन्ड जति कुराकानी गरेँ र मैले प्रश्न सोधेँ–के तपाईं कहिल्यै एलओडी जानुभएको छ ? उनले भने  ‘छैन’ अर्थात उनि आफैले यो समाचार लेख्दा कुनै अनुसन्धान नभएको बताए । ठ्याक्कै बिलहरूमा एक रुपैयाँ पनि थप हुदैन यहाँ । त्यसैले यस्ता बेकार समाचारको लागि सबै सचेत रहनुहोस्।

तर, उनले पनि यहाँ झुठो ब्यहोरा उल्लेख गरेका छन्। समाचार अनुसन्धान गरेर होईन, ओलओडीबाट पीडित भएका ग्राहकको गुनासोका आधारमा तयार गरिएको हो। जसको प्रमाण नेपाल आजसँग सुरक्षित छ। सेढाईसँग नेपाल आजले आधा घण्टाभन्दा वढि कुराकानी गरेको छ। कुराकानीका क्रममा सवैलाई विल दिएर साध्य हुँदैन भनेर उनले नै स्विकार गरेका छन् र कतिपय ग्राहकलाई जोरजवरजस्ती गरेरै पैसा असुल गर्ने गरिएको पनि उनले स्विकारेका छन्। उनी भन्छन्–‘हामीले सम्हाल्न नसक्ने अवस्था आएपछि पहिलो चरणमा वाउन्सर र सुरक्षा गार्ड मार्फत पैसा असुल हुन्छ र त्यसपछि कानुनी कारवाही हुन्छ।’

सेडाईलाई फेसबुक प्रयोगकर्ताले नै पनि जवाफ दिएका छन् । यस सबगल नामका फेसवुक प्रयोगकर्ता लेख्छन–‘एलओडीमा खराब कस्टमर सर्भिस (ग्राहक सेवा) छ। पैसा तिरेर छिरेपछि कस्टमरको भ्यालु गर्न सिक्नुपर्छ। म बुझ्छु नाइट क्लबमा रक्सीमा वाइनले हिंसा हुन्छ तर ग्राहकलाई फेरी आउने बाटो बनाउनु पर्छ। एउटा नआए अर्को आउँछ भन्ने सोचाई राख्ने हो भने एलओडी भन्दा राम्रो सेवा कर्म, प्राइभ नेपालले दिन्छ। कस्टमर हेण्डल सिक्नु पर्यो। सिक्नु पर्यो पैला व्यवस्थापनले। ग्राहक हरु सचेत भैसके।’ 

सेढाईको जबाफमा भरत अधिकारी थप्छन–‘यो एलओडीको मालिक चाहीँ को रहेछ, नागार्जुन र बालकोटको साइनो पर्नेको होला र पो लुट्या छ त!’ यतिमात्रै होईन, कतिपय फेसवुक प्रयोगकर्ताले एलओडीमा छिर्ने ग्राहकको नगद तथा गरगहनाको समेत सुरक्षाको कुरा उठाएका छन् । ‘यो एलओडी भन्ने तीर्थमा एकचोटि त जानै पर्नी भो, एकछिन् हेर्न भएपनी’ भन्दै सञ्जय अधिकारीले गरेको कमेन्टमा सुनिल पुरी लेख्छन्–‘जान त जानुहोस तर पैसा कम बोक्नुहोस, सुनको सिक्री, औठी, मुन्द्रा लिएर नजानुहोस। ओके ब्रो।’ 

कृष्ण प्रसाद नेपाल नामका फेसवुक प्रयोगकर्ताले ‘बस्तु तथा सेवा बिक्री गर्दा अनिबार्य बिल÷बिजक जारी गर्नु पर्छ। यसको गहिरो अनुसन्धान हुनु जरुरी छ’ भन्दै लेखेका छन् भने सविता भट्टराई घिमिरेले एलओडीमा जाने ग्राहकसम्मको सम्पत्ति छानविन हुनु पर्ने माग गरेका छन् । उनी लेख्छन्–‘एलओडीमा जाने व्यक्तिको सम्पत्ति छानविन गर्नु परो सरकार। सामान्य आम्दानी हुनेले एलओडीमा जाने आँट पनि गर्दैन। उसलाई एलओडीको वारेमा जानकारी नि हुदैन ।’

यो पनि,

एलओडी

विशेष