News

एमालेले यस्ता मान्छेलाई पनि बनाउँदैछ समानुपातिक सांसद !

एमालेले यस्ता मान्छेलाई पनि बनाउँदैछ समानुपातिक सांसद !

नेकपा एमालेले समानुपातिक सांसद छनौट गर्न वोलाएको सचिवालय वैठक आज स्थगित भयो। उक्त वैठक शनिवारका लागि बोलाईएको छ। 

शनिवार वस्ने वैठकले प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले पाउने ३४ सिटका लागि नामावली निर्धारण गर्ने छ। एमालेले यस पटक विवादमा आइरहने एकनाथ ढकालदेखि निर्वाचनको मुखमा कांग्रेस छाडेर आएका व्यापारी देवी भट्टचनसम्म सांसद बनाउँन लागेको छ। 

एमालेले यसअघि नै निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीका आधारमा उम्मेदवारको नाम आयोगलाई पठाउनुपर्ने छ। आयोगले समानुपातिक प्रतिनिधित्वका लागि निर्धारण गरेको कलस्टर अनुसार र संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको एक तिहाइ महिला सदस्य पठाउनु पर्ने छ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ सिट जितेकोमा ४ जना महिला प्रत्यक्ष निर्वाचित भएका छन्। राष्ट्रियसभामा एमालेका रहेका १६ मध्ये ९ जना महिला छन्। एमालेको संघीय संसद्मा ९४ सदस्य हुनेछन्। त्यसअनुसार संघीय संसद्मा एकतिहाइ महिलाको अनिवार्य प्रतिनिधित्व गराउन एमालेका ३२ सांसद महिला हुनुपर्छ।

प्रत्यक्षमा निर्वाचित ४ र राष्ट्रियसभाका ९ समेत गरेर एमालेका १३ सांसद महिला हुनेछन्। अब समानुपातिक सूचीबाट एमालेले १९ जना महिला र १५ जना पुरूष उम्मेदवारलाई सांसद बनाउन सक्छ। 

आदिवासी जनजातिबाट १०, खस आर्यबाट ११, थारूबाट २, दलितबाट ५, मधेशीबाट ५ र मुस्लिमबाट १ जनाको प्रतिनिधित्व गराउनुपर्छ। यसरी हेर्दा एमालेले खसआर्य महिलाबाट ६ जना सांसद पठाउन सक्छ। खसआर्य महिला कलस्टरको पहिलो नम्बरमा मेनकाकुमारी पोखरेल, दोस्रोमा सरिता भुसाल, तेस्रोमा शोभा ज्ञवाली, चौथोमा विजुला रायमाझी, पाचौँमा निर्मला कोइराला र छैटौँ नम्बरमा सम्झना थपलिया छन्। 

एमालेले खसआर्य पुरूषतर्फ कम संख्या पठाएर महिलातर्फ धेरै पठाउन पनि सक्छ। त्यसो गर्दा महिलातर्फ सातौँ नम्बरमा रहेकी दीपा शर्मा र आठौँ नम्बरकी सुनिता बराल पनि प्रतिनिधिसभा सदस्य बन्न सक्छन्। खसआर्य महिलाको नवौँ नम्बर र पिछडिएको क्षेत्रतर्फ पहिलो नम्बरमा रहेकी भागरथी कुमारी चन्द पनि सांसद बन्न सक्छिन्।

खसआर्यबाट ११ जनासम्म पठाउन पाउने भएकाले महिलाको संख्या धेरै राखेर पुरूष कम पठाउने विकल्प पनि एमालेसँग छ। तर, त्यस्तो सम्भावना कम रहेको नेताहरु बताउँछन् । आदिवासी जनजातिबाट १० जना पठाउनुपर्ने भएकाले महिलाबाट कम्तिमा ५ जना सांसद निर्वाचित हुने देखिन्छ।

एमालेले बुझाएको बन्दसूचीमा जनजाति महिलातर्फ पहिलो नम्बरमा नैनकला थापा मगर, दोस्रो नम्बरमा सूर्यकुमारी श्रेष्ठ, तेस्रोमा उर्मिला थेवे, चौथोमा ईश्वरी घर्ती र पाँचौँ नम्बरमा रणकुमारी बलम्पाकी मगर छन्। उनीहरू पाँचैजना सांसद बन्ने निश्चित जस्तै छ। 

दलित महिलातर्फ पहिलो नम्बरमा रहेकी रुक्मणी राना बराइली, दोस्रो नम्बरमा रहेकी हर्कमाया विश्वकर्मा र तेस्रो नम्बरकी इन्दिराकुमारी पन्थी पनि निर्वाचित हुने छन्। थारू महिलातर्फ पहिलो नम्बरमा रहेकी अस्मा कुमारी चौधरी सांसद बन्ने निश्चित छ। दोस्रो नम्बरमा शान्ति चौधरी छन्। पुरूषतर्फबाट एकजना सांसद पठाएमा शान्तिको सांसद बन्ने सम्भावना रहनेछैन। तर, पुरूषतर्फ नपठाएर एमालेले थारू महिलालाई नै सांसद बनाउन पनि सक्छ। 

मधेशी महिलातर्फ पहिलो नम्बरमा रहेकी बीना देवी, दोस्रो नम्बरमा रहेकी अमृतादेवी अग्रहरी र तेस्रो नम्बरमा रहेकी प्रतिक्षा तिवारी मुखिया सांसद बन्ने निश्चित छ। मुस्लिम महिलातर्फ रूही नाज समानुपातिक सांसद बन्ने निश्चित देखिन्छ। 

पुरुषतर्फ भने खस आर्यतर्फ पहिलो नम्बरमा रहेका रघुजी पन्त र दोस्रो नम्बरमा रहेका एकनाथ ढकाल सांसद निर्वाचित हुने निश्चित छ। ढकाल नेपाल परिवार दलका अध्यक्ष हुन्। स्थानीय निर्वाचनमा परिवार दललेसमेत एमालेसँग तालमेल गरेको थियो।

ढकाल नेपालमा धर्मप्रचारसँग जोडिएको विवादास्पद संस्था, युनिफिकेसन चर्चसँग आबद्ध व्यक्ति हुन्। ढकालका यस्ता कैयौँ आबद्धता र गतिविधि सधैँ विवादमा पर्दै आएका छन्। खस आर्य पुरुषको सूचीमा चौथो नम्बरमा रहेका दयालबहादुर शाही पिछडिएको क्षेत्रबाट पहिलो नम्बरमा रहेकाले उनी पनि एमालेको समानुपातिक सांसद निर्वाचित हुने देखिन्छ। 

आदिवासी जनजाति पुरूषतर्फ पहिलो नम्बरमा रहेका देवीप्रसाद भट्टचन सांसद बन्ने निश्चित छ। भट्टचन व्यापारिक समूह प्रभु ग्रुपका अध्यक्ष हुन्। व्यापारिक पृष्ठभूमिबाट कांग्रेस राजनीति गर्दै आएका उनी कांग्रेसको प्रारम्भिक समानुपातिक सूचीबाट असन्तुष्ट बनेर एमाले प्रवेश गरेका थिए। एमालेले उनलाई पहिलो नम्बरमा राखेर समानुपातिक सूचीमा बनाएको छ।

आदिवासी जनजाति पुरुषतर्फ दोस्रो नम्बरमा रहेका हेमराज राई, तेस्रो नम्बरमा रहेका कालुराम राई, चौथो नम्बरमा रहेका भीमबहादुर खवास र पाँचौँ नम्बरमा रहेका सरोज डंगोल पनि एमालेबाट समानुपातिक सांसद निर्वाचित हुनेछन्।   

थारू कलस्टरबाट पुरूषतर्फ सत्यनारायण चौधरी पहिलो नम्बरमा छन्। उनी सांसद बन्ने निश्चितजस्तै छ। दलित पुरूषतर्फ पहिलो नम्बरमा रहेका ईश्वरबहादुर रिजाल (विक) र दोस्रो नम्बरमा रहेका प्रभु हजारा दुसाध पनि सांसद बन्नेछन्। मधेशी पुरुषतर्फ पहिलो नम्बरमा रहेका गंगाप्रसाद यादव र दोस्रो नम्बरमा रहेका अमृतलाल राजवंशी सांसद बन्ने निश्चित छ। मुस्लिम कलस्टरबाट एकजनाको मात्र प्रतिनिधित्व हुने भएकाले त्यसमा पुरुषले मौका पाउने छैनन्, अनिवार्य रूपमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने छ। 
 

विशेष