News अपराध सुरक्षा

१३ हजारको लोभले कालकोठरीमा ‘कृष्ण’, यसरी भयो ७ महिने बालकको चोरी

१३ हजारको लोभले कालकोठरीमा ‘कृष्ण’, यसरी भयो ७ महिने बालकको चोरी

७ महिनाको बच्चा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई महिला छन् । 

जनकपुरधाम–६ का मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई चोरी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २० वर्षीया किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

मनिषाको छोरा मोहका कारण बच्चा चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मनिषालाई छोरा नभएकाले जसरी पनि छोरा चाहियो भनेर बच्चा चोरी गरिएको प्रहरीले जनाएको छ।

कृष्ण कुमारले बच्चा उपलब्ध गराउने सर्तमा मनीषासँग १३ हजार रुपैयाँ लिएको र उनको काममा किरण रामले बच्चा चोरी गर्न उनलाई सघाएको पाईएको छ। बुधबार साँझ करिब ६ बजे जनकपुरधाम–६ स्थित महाराज सागर पोखरी छेउबाट ७ महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन्।

आमिर राइनकी ६ वर्षीया छोरी एलिजा खातुनसँग रहेका बेला मनिषाले एलिजालाई पैसा दिएर कुरकुरे किन्न पसल पठाई बच्चालाई लिएर भागेकी थिइन्। खोजतलास गर्ने क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम–१९ बेंगा शिवपुर पिपराही स्थित हाँस तथा भैँसी फारम पछाडिको खेतबाट मनिषालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनीहरु विरुद्ध अपहरण सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

बच्चा चोरी

विशेष