News राजनीति

माओवादीमा सुरु भयो ५६ को झेलः विधानमै अवरोध, यस्तो प्रचण्डको खेल

माओवादीमा सुरु भयो ५६ को झेलः विधानमै अवरोध, यस्तो प्रचण्डको खेल

माओवादी केन्द्रको ८औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय समिति बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गर्यो। तर, अन्य पदाधिकारीको टुंगो लागेको छैन।

विधानअनुसार माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षलगायतका पदाधिकारी चयन गर्न वाँकी छ। अन्य पदाधिकारीमा खासै समस्या देखिएको छैन तर, महासचिवमा भने दुई नेताको छिनाझम्टी चलिरहेको छ। अध्यक्ष प्रचण्ड भने पदाधिकारी पनि सहमति मै टुङ्गो लगाउने पक्षमा छन् ।

पूर्ण आकारको केन्द्रीय कमिटीपछि मात्रै निर्वाचन
माओवादी केन्द्रको पूर्ण कार्यकारी अधिकारसहितको केन्द्रीय कमिटीको संख्या भनेको एक सय ९९ जनाको हो । तर, महाधिवेशनबाट माओवादीले १ सय ४६ जना केन्द्रीय सदस्य चयन गरेको थियो । पूर्ण केन्द्रीय कमिटीको संख्या घोषणा भएका कारण महासचिवका लागि प्रतिस्पर्धा गर्न कानूनी रुपमा अप्ठ्यारो छ ।

माओवादी केन्द्रको विधानले नै पूर्ण आकारको केन्द्रीय कमिटीबाट मात्रै पदाधिकारी चयन गर्ने उल्लेख गरेको छ । त्यसैले माओवादी केन्द्रमा पदाधिकारीले निर्वाचन लड्ने अवस्था आएमा पूर्ण केन्द्रीय कमिटी हुनुपर्ने विधानको व्यवस्थाका कारण अब २०७८ माघ २७ गते काठमाडौं बस्ने केन्द्रीय कमिटीको बैठकले पहिला पूर्ण आकारको केन्द्रीय कमिटी बनाउने बताईन्छ।

आकांक्षी धेरै, निर्वाचन लड्ने दुई
निर्वाचनमै जाने अवस्था आए त्यसपछि मात्रै पदाधिकारीको टुङ्गो लाग्ने नेताहरु बताउँछन्। महासचिवका लागि तत्कालको अवस्थामा अर्थमन्त्री जनार्दन शर्मा र पूर्वमन्त्री एवम् सचिव वर्षमान पुन वलिया दावेदार छन्। महासचिवमा देवप्रसाद गुरुङ, पम्फा भुसाल, शक्ति बस्नेतलगायतले पनि अपेक्षा गरेका छन् तर उनीहरु निर्वाचनमा जाने तयारीमा देखिएका छैनन्।

महासचिवका दाबेदार पुन र शर्मा भने आफ्नो नाममा सहमति भए ठीक नभए चुनाव लड्न तयार छन् । पुन यसअघि नै सचिव भइसकेको र उनीभन्दा तल्लो पदमा रहेर शर्माले काम गरेकाले स्वाभाविक रूपमा महासचिवमा उनको दाबी छ। यसैगरी, शर्मा निकटले भने संगठन विभागको प्रमुख भइसकेको र पार्टी कार्यदिशालाई सही रूपमा कार्यान्वयन गर्नका लागि शर्मा नै महासचिव बन्नुपर्ने दाबी गर्दै आएका छन् ।

५६ भित्र चलखेल
महासचिव पदका लागि प्रतिस्पर्धा वढिरहेका वेला दुवै नेता अहिले चयन हुन वाँकी ५६ जना केन्द्रीय सदस्यका लागि चलखेल गरिरहेका छन् । अध्यक्ष प्रचण्डले प्रतिस्पर्धि दुवै नेतालाई ग्रिन सिग्नल दिएका छैनन् । त्यसैले, आकांक्षी दुबै नेता दौडधुपमा लागेका छन् ।

अध्यक्ष प्रचण्डलाई फकाउने र महाधिवेशनबाट चयन केन्द्रीय सदस्यलाई प्रभावमा ल्याउने देखि बाँकी पदमा आफु निकटकालाई सदस्यमा मनोनयन गराउने प्रयासमा दुवै नेता लागेको माओवदी नेताहरु वताउँछन्।

विधानको व्यवस्थाका कारण पदाधिकारीको निर्वाचनका लागि ०७८ माघ २७ गते काठमाडौं बस्ने केन्द्रीय कमिटीको बैठकले पहिला पूर्ण आकारको केन्द्रीय कमिटी बनाउने र त्यसपछि मात्रै पदाधिकारीको टुङ्गो लाग्ने नेताहरु वताउँछन् । अहिले संभावित केन्द्रीय सदस्यको नाममाथि छलफल भइरहेको छ । 

५६ जनाभित्र पर्नका लागि व्यक्तिगत रुपमा र समूहगत रुपमा नेताहरु प्रचण्ड र अन्य नेतालाई गुहारी रहेका छन् भने पुन र शर्मा पनि तिनै नाममा खेल्न खोजीरहेका छन्। अहिले मनोनित भएका १ सय ४६ जना केन्द्रीय सदस्यमा तुलनात्मक रुपमा शर्माप्रति सकरात्मक भएका नेताहरुको संख्या बढी रहेको छ । त्यसैले पुन चीनबाट फर्केदेखि नै ५६ जना मनोनित हुने नयाँ केन्द्रीय सदस्यमा आफ्ना मान्छे छिराउने राजनीतिमा लागेको वताईन्छ। 

माओवादी केन्द्र महासचिव जनार्दन शर्मा वर्षमान पुन

विशेष