News

पारित होला त चोलेन्द्र विरुद्धको महाअभियोग, एमाले जुट्यो वैठकमा

पारित होला त चोलेन्द्र विरुद्धको महाअभियोग, एमाले जुट्यो वैठकमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सोमबार बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । एमालेले सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको हो ।

सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका  छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

महाअभियोग लगाउनुका २१ वटा आधार र कारण समावेश गरिएको छ । जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।

महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा निलम्बित भएका छन् । संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म उनले कुनै कामकार्बाही गर्न पाउने छैनन् ।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् । कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषद्को पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । कार्की आगामी असोज महिनामा अवकाश हुनेछन् । ६५ वर्षे उमेर हदका कारण उनी स्वतः अबकाश हुनेछन्।

६५ वर्षे उमेर हद लागु हुने व्यवस्था अनुसार जबराको कार्यकाल भने आगामी मंसिर महिनासम्म थियो । यदि उनले पूरा कार्यकाल काम गर्न पाएको भए कार्कीले बीचमै अवकाश पाउँथे । तर जबराविरुद्ध महाअभियोग लागेपछि कार्कीले अवसर पाएका छन् ।

जबरा राणा प्रधानमन्त्री वीरशमसेरका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर समशेरका पनाति हुन् । जंगबहादुर राणा मरेपछि उनका भाइ रणोद्दीप सिंह केही समय श्री ३ महाराज प्रधानमन्त्री भए । तर, धीर समशेरका १७ भाइ छोराको धैर्य टुटेपछि उनीहरुले काका रणोद्दीपको हत्या गरी शासनसत्ता कब्जा गरेका थिए । त्यसपछि जेठा वीर समशेर प्रधानमन्त्री तथा श्री ३ महाराजा भए ।

उनै वीर शमसेरका छोरा इन्द्र समशेरका नाति हुन् चोलेन्द्र शमसेर जबरा । चोलेन्द्रका पिता युवराज शमसेर राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् । काठमाडौंको सुकेधारा गणेशगौरी मार्गका स्थायी बासिन्दा राणाले कानूनमा स्नातक (डीएल) सम्म अध्ययन गरेका छन् । उनले सन् २०१३ मा कोरियामा न्यायालयको विकास सम्बन्धी तालिमसमेत लिएका छन् ।

वकालत गर्दागर्दै ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भए। पछि विशेष अदालतको सदस्य पनि भए । पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश हुँदा ०७१ जेठमा मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । उनी सन् १९९६ देखि पुनरावेदन अदालत हुँदै न्यायालयमा प्रवेश गरेका हुन् ।

०७५ पुस १८ गते प्रधानन्यायाधीश पदको कार्यभार सम्हालेका थिए । तर मन्त्रिपरिषद सदस्यको भागबण्डा लगायतका काण्डमा मुछिएपछि उनी विवादित बने । सहकर्मी न्यायाधीशहरुले नै उनीसँग बेन्च सेयर गर्न मानेका थिएनन् भने कानून व्यवसायीहरुले उनको राजीनामा माग्दै प्रदर्शन जारी राखेका थिए ।
 

चोलेन्द्रशमशेर जबरा महाअभियोग प्रस्ताव

विशेष