News

चीनियाँ दादागिरीः अनुमती विनै ढुंगा गिट्टी उत्खनन

चीनियाँ दादागिरीः अनुमती विनै ढुंगा गिट्टी उत्खनन

नेपालमा चीनियाँ हेपाहा प्रवृत्तिको श्रृंखला एकपछि अर्को थपिदै गएको छ। पछिल्लो समय पूर्व–पश्चिम राजमार्गलाई चार लेन बनाउने ठेक्का पाएको चिनियाँ कम्पनी चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले ढुङ्गा गिटीको अवैद्य उत्खनन सुरु गरेको छ।

नदीजन्य पदार्थ झिक्न कम्पनीले अनुमति लिएको छैन । तर, धनुषाको कमला नदीमा ढुंगा–गिट्टीको अवैध उत्खनन गरिरहेको छ। नदीजन्य पदार्थको उत्खनन र ढुवानीमा प्रयोग गरिएका गाडी र उपकरणहरू धनुषा प्रहरीले नियन्त्रणमा लिएपछि यो तथ्य वाहिर आएको हो।

प्रहरीले गणेशमान चारनाथ–५ स्थित कमला खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा आइतबार साँझ ग्रुपका ७ टिपर र १ एक्स्काभेटर नियन्त्रणमा लिइएको हो।

कम्पनीले ढुंगा–गिट्टी सिरहाको कर्जन्हास्थित यार्डमा थुपारिरहेको छ। कम्पनीले मेसिनबाट बालुवा–गिट्टी खनेर लग्ने गरेको थियो । उत्खनन स्थलमा प्रहरी पुग्दा चालकहरू फरार भएपछि टिपर र एक्स्काभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

टिपर र एक्स्काभेटर पक्राउ परेपछि चिनियाँ ठेकेदार कम्पनीले जनप्रतिनिधिमार्फत धनुषा प्रहरीमाथि दबाब बढाएको छ । कर्जन्हा नगरपालिकाका उपमेयर ज्ञानु श्रेष्ठले कमलामा उत्खनन गर्न आफूले अनुमति दिएको दावी गरेकी छिन् । नियन्त्रणमा लिइएको सवारीसाधन छोड्न उनको दबाब वढिरहेको धनुषा प्रहरीले जनाएको छ। 

यस विषयमा कम्पनीका प्रतिनिधिले सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। 
 

विशेष