News

बुधवार एमसीसी संसदमा टेबल हुन्छः प्रधानमन्त्री देउवा

बुधवार एमसीसी संसदमा टेबल हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) टेबल हुने बताएका छन्। मंगलबार बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले सभामुख अग्नि सापकोटासँग पनि यस वारेमा परामर्श गरिसकेको बताए।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले एमसिसी संसदमा दर्ता गरेकाले एमाले पनि एमसिसीका पक्षमा उभिने देउवाले बताए। कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दिएको अभिव्यक्ति उदेकलाग्दो भएको बताए ।

आफ्नै पार्टीका अध्यक्षको सरकारले संसदमा दर्ता गरेको एमसिसी सम्झौता पास गर्ने षडयन्त्र भइरहेको भनी भनेको उनको अभिब्यक्तिका विषयमा देउवाले प्रतिक्रिया दिएका हुन । ओली नेतृत्वको सरकारले २०७६ असारमा एमसिसी सम्झौता संसदमा दर्ता गरेको थियो। ओलीको सरकारमा अहिलेको माओवादी केन्द्र र एकीकृत समाजवादी पनि सहभागी भएकाले उनीहरूले पनि एमसिसीको समर्थन गर्ने देउवाले बताए।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्व दर्ता भएको महाभियोग प्रस्तावलगायत विषयमा समेत छलफल भएको छ । 
 

शेरबहादुर देउवा

विशेष