News

प्रचण्ड चीनको प्यारो वन्न खोज्दा यसरी गिजोलियो एमसीसी !

प्रचण्ड चीनको प्यारो वन्न खोज्दा यसरी गिजोलियो एमसीसी !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर चरित्र कसैबाट लुकेको छैन। राजनीतिक वृत्तमा मात्र होईन, ब्यक्तिगत जिवनमा पनि उनको अस्थिरता साधार मान्छेको कल्पना भन्दा वाहिर छ।

प्रचण्ड कतिसम्म अस्थिर छन् भने– उनले आफनो नाम मात्रै ६ पटक परिवर्तन गरिसकेका छन् । छविलाल भएर जन्मेका उनी पुष्पकमल, कल्याण, विश्वास, निर्माणहुँदै प्रचण्डमा आएर अडिएका छन् । यतिमात्र होईन, आजसम्म आईपुग्दा प्रचण्डले पार्टीको नाम पनि ६ पटक परिवर्तन गरिसकेका छन्। प्रचण्ड राजनीति सुरु गर्दा तत्कालीन कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा आबद्ध थिए। ०४६ सालमा उनी महामन्त्री हुँदा पार्टीको नाम नेकपा मसाल थियो। दुई वर्षपछि ०४८ सालमा पार्टीको नाम एकता केन्द्र भयो। जनयुद्ध सुरु गर्नुअघि उनले पार्टीको नाम माओवादी राखे। संसदीय राजनीतिमा आएपछि उनको पार्टी र एकता केन्द्र मसालबीच एकता भयो। त्यसपछि उनले पार्टीको नाम एकीकृत माओवादी राखे।

त्यसपछि साना कम्युनिस्ट पार्टीहरूसँग एकता गरेर पार्टीको नाम माओवादी केन्द्र बनाए। तर एमालेसँगको एकता पछि त्यो नाम फेरिएर नेकपा मात्रै रह्यो। पार्टी एकता बदर भएपछि प्रचण्ड पुरानै माओवादी केन्द्रको अध्यक्ष छन्।

प्रचण्डको यही अस्थिरताले अहिले मुलुक नै समस्यामा परेको छ। अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतामा पनि उनले दोहोरो भूमिका अपनाएका छन् । एमसीसी बोर्डका अध्यक्षलाई पत्र लेखेर संसद्बाट सम्झौता अनुमोदन गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरेका उनले गठवन्धनमा भने सम्झौता विरोधी भूमिका खेलिरहेका छन् ।

माघ २५ गते उनले हस्ताक्षर गरेको पत्र सार्वजनिक भयो। उनले त्यस विषयमा खण्डन गरे झै त गरे, तर तथ्यलाई स्विकार्न उनलाई करै लाग्यो। व्यक्तिगत रुपमा प्रचण्ड एमसीसीलाई प्रतिनिधि सभाबाट पारित गराउन चाहन्छन् भन्ने नै देखिन्छ। तर, एमसीसीका सम्बन्धमा पार्टीभित्रका ‘हार्डलाइनर’हरु मात्रै मुखर भइरहेको र त्यसैबाट पार्टी पंक्ति डोरिएकाले उनी एकल निर्णय गर्न सक्ने अवस्थामा छैनन्। एमसीसीका पक्षमा खुलेर निस्कदा आफनो धरातल हल्लिने डरले नै उनी बोल्न नसकेको स्पष्ट वुझ्न सकिन्छ। अर्कोतर्फ तत्कालीन नेकपामै रहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठ्यारोमा पार्न सिर्जना गरेको जालोहरुमा यतिबेला उनी आफैं फसेका छन्।

पार्टीमा आफ्नो शक्ति संकुचत हुँदै गएको र एमसीसीलाई अनुमोदन गर्ने दिशातिर लाग्दा पार्टी नै विभाजन हुनसक्ने अवस्थाका कारण अहिले प्रचण्ड मरिच जस्तो चाम्रिएको राजनीतिक विश्लेषकहरु वताउँछन् । प्रचण्डको यही दोहोरो चरित्र अहिले पार्टीमा पनि देखिएको छ। माओवादी केन्द्र सत्ता र सडक दुवैतर्फ देखिन्छ। 

अहिले पनि उनी दोहोरो चरित्रमै अघि वढ्ने प्रयासमा छन् । एमसीसीलाई चुनावसम्म धकेल्दै जाने र गठवन्धन टिकाई राख्ने उनको योजना छ। एक्लाएक्लै चुनाव लड्दा त्यसबाट पार्टीलाई पर्ने असरका वारेमा जानकार प्रचण्ड चुनावपछिको शक्ति संरचनाको आधारमा अघि बढ्ने रणनीतिमा देखिन्छन। कहिले भारत र कहिले चीनसँग नजिकिने प्रयत्नबाट अस्थिर बनेका प्रचण्ड यतिबेला चीनको विश्वासपात्र बन्न खोजेका छन्। त्यसैले पनि चीनको स्वार्थ रक्षा हुने गरी उनी उभिएका छन्।

एमसीसी

विशेष