News

एमसीसी शुक्रवार पनि संसदमा टेबल नहुने 

एमसीसी शुक्रवार पनि संसदमा टेबल नहुने 

एमसीसीबारे सहमति जुटाउन विहिवार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। दुई घण्टा छलफल गर्दा पनि सहमति जुट्न नसकेपछि बिना निष्कर्ष बैठक टुंगिएको छ ।

शुक्रबार बिहान ९ वजे पुनःगठबन्धनको बैठक बस्ने सहमति भएको माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने निर्णय गरेको बैठकमा उपस्थित एक नेताले बताए। सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा अभिएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी भने विपक्षमा उभिएका छन्।

यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो। यसअघि एमसिसीबारे छलफल गर्न बिहीबार बिहान पनि प्रचण्ड बालुवाटार पुगेका थिए। उनीहरूबीच आधा घन्टा जति कुराकानी भएको थियो।

एमसिसी पास गर्न खोजे सत्ता गठबन्धन छोड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारको संसद बैठकमा एमसिसी टेबल गर्ने पक्षमा उभिएका थिए। देउवाले प्रचण्डलाई यस अघि नै ‘सरकार छोड्न सक्नु हुन्छ’ भन्दै स्मरण गराईसकेका छन् ।

आजको वैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए।

जसपाका अध्यक्ष उपेन्द्र यादव भने राजधानीबाहिर भएकाले सहभागी भएनन्।
 

एमसीसी गठबन्धन

विशेष