ओलीसँग गुहार माग्न थालेपछि देउवाकै लाईनमा प्रचण्ड–माधब
अमेरिकाको दबाव र प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल झुकेका छन् । लामो रस्साकस्सीपछि एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने तीन नेताबीच सहमति वनेको छ।
गठबन्धन जसरी पनि जोगाउन आवश्यक रहेको भन्दै माओवादीका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल एमसीसी सम्झौता टेबल गर्न दिने सहमतिमा आएका हुन । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका एक जना उच्च नेताले एमसीसी संसदमा टेबल गर्न प्रचण्ड र माधव नेपाल सहमत भएको बताए।
नेकपा एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी यथास्थितीमा पारित गर्न नसकिने तर संसद्मा छलफलका लागि टेबल गर्न दिने निर्णय गरेको जनाईएको छ। तर, प्रधानमन्त्री देउवाले जएमसीसी अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद सुरु गरेपछि गठवन्धन जोगाउन एकीकृत समाजवादी लचक बनेको हो।
प्रचण्ड र नेपालले संसदमा टेबल गर्न सहमति जनाएपनि एमसीसी सम्झौता संशोधन नगरी छलफल र निर्णयार्थ प्रस्तुत गर्न नसकिने अडान भने राखेका छन्। अमेरिकाले चार वर्षअघि भएको एमसीसी सम्झौता १६ फागुन (२८ फेब्रुअरी) भित्र संसदबाट अनुमोदन नभए फिर्ता हुनसक्ने भन्दै अनुमोदन गर्न दबाब बढाएको छ। पाँच महिनाअघि एमसीसीलाई संयुक्त पत्र लेखेका कारण प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड यो दबाबमा छन्।
तर माओवादी र एकीकृत समाजवादी पार्टीभित्र संशोधन नगरी एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने मत निकै बलियो छ। माओवादीको संसदीय दलको बैठकले केही दिनअघि संशोधन बिना एमसीसी संसदमा लैजान नहुने, जबर्जस्ती लगिए माओवादीले सरकार छाड्ने निर्णय गरेको थियो।
यो पनि
ओलीसँग देउवाको गुनासोः गठबन्धनबाट धोका र असहयोग मात्रै पाएँ