News

बुद्ध एयरमा कर्मचारीको श्रम शोषण, गुनासो सम्बोधन भन्दा गलत प्रमाणित गर्न बहानावाजी

बुद्ध एयरमा कर्मचारीको श्रम शोषण, गुनासो सम्बोधन भन्दा गलत प्रमाणित गर्न बहानावाजी

नेपालको निजि विमानसेवा कम्पनी बुद्ध एयर प्रालिले श्रम ऐनविपरीत कामदारलाई न्यूनतम पारिश्रमिक समेत नदिएको गुनासो पटक पटक सार्वजनिक हुने गरेको छ। तर, कम्पनीले आफनो कमजोरी सुधार गर्नेतर्फ कहिलै ध्यान दिएको छैन। वरु चुहिएका सुचनालाई कसरी निस्तेज पार्न सकिन्छ भन्नेमा चै कम्पनीले आफनो समय र श्रोत खर्च गर्ने गरेको पाईएको छ।

के छ न्यूनतम पारिश्रमिकको ब्यवस्था
सरकारले ०७८ साउन १ गतेदेखि लागु हुने गरी नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पु¥याएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारिश्रमिक वृद्धि गरेको सूचना राजपत्रमै प्रकाशित गरेको थियो।

त्यसैगरी, अतिरिक्त काममा लगाउँदा प्रतिघण्टा ७७ रूपैयाँ पारिश्रमिक दिनुपर्ने नियम पनि बनाइएको छ । यसअघि श्रमिकको न्यूनतम पारश्रमिक १३ हजार ४५० रुपैयाँ रहेकोमा त्यसलाई वृद्धि गरेर १५ हजार पुर्यार्ईएको हो।

उपभोग्य सामग्रीमा हरेक दिन हुने मुल्यवृद्धिका तुलनामा यो पारिश्रमिक ‘न्युनतम’ को पनि कयौं गुणा न्युनतम हो। किनकी यो पारिश्रमिकले कुनै पनि नेपालीको परिवार चल्ने अवस्था छैन। त्यसमाथि सरकार आफैले लागु गरेको यो ब्यवस्था कार्यान्वयन गर्न सकेको छैन। जसका कारण श्रमिकहरु पीडामा छन् ।

बुद्धको नाममा चरम शोषण 
सरकारले तोकेभन्दा कम पारिश्रमिक दिएर कर्मचारी तथा श्रमिकलाई काममा लगाउँन पाईदैन। कानुनी रुपमा यो अपराध हो। तर देशकै अग्रणी विमान कम्पनी दाबी गर्ने बुद्ध एयर प्रालिले आफना कर्मचारी तथा मजदुरलाई सरकारी मापदण्ड भन्दा पनि धेरै कम पारिश्रमिक दिने गरेको छ।

बुद्ध एयरमा विभिन्न तहमा गरी करिव १ हजार २०० कर्मचारी कार्यरत छन् । यीमध्येका सबैभन्दा सानो पद लोडर हो । उनीहरुलाई ३ हजार ६ सय रूपैयाँमा काममा लगाएको पाईएको छ। यो सरकारले तोकेभन्दा ११ हजार ४ सय कम हो।

यतिमात्रै होईन, अफिस असिस्टेन्ट र अधिकृत तहका कर्मचारीलाई समेत बुद्धले सरकारी मापदण्ड भन्दा काम पारिश्रमिक दिने गरेको छ। बुद्ध एसरकै कर्मचारीहरुका अनुसार अफिस असिस्टेन्टले जम्मा ८ हजार ६ सय र अधिकृत तहका कर्मचारीले ९ हजार ५ सय मात्र पारिश्रमिक पाउने गरेका छन ।
 
भत्ताको लोभ
न्यूनतम तलवमै श्रम शोषण गरेको कम्पनीले विभिन्न भत्ताको नाममा कर्मचारीलाई अल्मल्याउने गरेको छ। हाल डीआईए, पेट्रोलियम पदार्थ, खाना खर्चलगायत विभिन्न शीर्षकमा भत्ता उपलब्ध गराउँने गरिएपनि तलबमै मापदण्ड नमानेका कारण कर्मचारी तथा कामदार असन्तुष्ट छन् ।

कम्पनीले सरकारले न्युनतम पारिश्रमिक १५ हजार पुर्याएको विषय नै अस्विकार गर्दै आएको छ। तलब र भत्ता जोडेर १५ हजार पुर्याउने सरकारको निर्णय रहेको र सो अनुसार बद्धका हरेक कर्मचारीले पारिश्रमिक पाउने गरेको माथिल्लो तहका कर्मचारीहरु दावी गर्छन।

बुद्धले किन दिदैन न्यूनतम तलब 
बुद्ध एयरको ब्यवस्थापन पक्षले सरकारले तोके अनुसार तलब र भत्ता गरेरे हरेक कामदार र कर्मचारीले १५ हजार पारिश्रमिक लिने गरेको दावी गर्दै आएको छ। तर, मापदण्ड अनुसार न्यूनतम तलब कम गर्दा कामदार कर्मचारी मारमा परेका छन् ।

कम्पनीले न्युनतम तलबकै आधारमा अतिरिक्त भत्ता निर्धारण गर्छ। जसले कामदार कर्मचारी मारमा पर्छन तर कम्पनी भने मालामाल भएको छ। त्यसैले कम्पनीहरूले न्यूनतम तलब कम दिई विभिन्न शीर्षकमा भत्ता खडा गर्ने गरेको मजदुर नेताहरूको गुनासो छ । 

कानुन अनुसार पूरा तलबको ६० प्रतिशत हिस्सा न्यूनतम पारिश्रमिक हुनुपर्छ भने त्यसमा ४० प्रतिशतमात्रै अन्य भत्तालगायत सुविधा हुनुपर्छ । तर, बुद्ध एयरमा भने व्यवहारमा ठ्याक्कै उल्टो छ।

न्यूनतम तलब कम राख्दा कम्पनीलाई अतिरिक्त काम लगाउन सस्तो पर्छ । किनभने, अतिरिक्त काम गरेका कर्मचारीलाई न्यूनतम तलबबाटै हिसाब गरेर त्यसको पारिश्रमिक दिइन्छ । बुद्ध आफैंले अहिले सहायक तहका कर्मचारीलाई प्रतिघण्टा ६२ रूपैयाँमा अतिरिक्त काम (ओभरटाइम) मा लगाइरहेको पीडित कर्मचारीहरु वताउँछन् ।

सरकारले प्रतिघण्टा ७७ रूपैयाँभन्दा कममा मजदुर तथा कर्मचारीलाई काममा लगाउन पाइँदैन भन्ने ब्यवस्था गरेपछि बुद्धले भने प्रचलित कानूनलाई चुनौती दिँदै मजदुर तथा कर्मचारीको श्रम शोषण गरिरहेको छ । 

न्युनतम तलब नै कम गरेपछि कम्पनीमा काम गर्ने कर्मचारीले उपदान पनि कम पाउने गरेका छन् । बुद्ध एयरमा पाँच वर्षभन्दा बढी सेवा गरेकालाई वर्षको १ महिनाको न्यूनतम तलब बराबर उपदान दिने नियम छ । यही ब्यवस्थाका कारण पनि कम्पनीले न्यूनतम पारिश्रमिक कम दिने गरेको कर्मचारी नेताहरु वताउछन्। न्यूनतम तलब कम हुँदा १५ वर्ष सेवा गरेर बिदा लिने व्यक्तिले ३ लाखभन्दा कम उपचाद पाउने गरेको उनीहरुको भनाई छ।

तलबमै कैची
बुद्धका कर्मचारीको तलब सुविधाले उसै पनि महिना मर्ने अवस्था छैन। त्यसमाथि १९ महिनासम्म कर्मचारीको ६०–८० प्रतिसम्म तलब कटौती गरेर बुद्धले ज्यादति गरेको वताईन्छ। कोरोना भाइरसको बहानामा बुद्धले कर्मचारीले खाइपाइ आएको तलबमा समेत ८० प्रतिशतसम्म कटौती गरेको हो ।

कोरोना संक्रमण सुरु भएपछि पहिलो चरणमा ०७६ चैत ११ देखि असोज ५ गतेसम्म लकडाउन भयो। दोस्रो लहरमा ०७७ वैशाख १५ देखि असार १७ सम्म दुई महिना आन्तरिक तथा बाह्य उडान प्रभावित भए। दुवै चरणमा गरी करिब ८ महिना उडान भएनन्। 

आन्तरिक उडान खुलेपछि अन्य विमान कम्पनीले व्यापार राम्रो गर्न नसकेपनि बुद्धको व्यापार भने चकाचक भयो। तर बुद्धले कर्मचारीको तलब काटिरह्यो। तलब कटौतीको कारण भने उसले व्यापारमा गिरावट भएको बताउँदै आएको छ । 

कम्पनीले ०७६ चैतदेखि ०७८ कात्तिकसम्म लगातार १९ महिना कर्मचारीले खाईपाई आएको ८० प्रतिशत तलब–भत्ता कटौती गरी नै रह्यो । कर्मचारीबाट श्रम शोषणको गुनासो आउने भयले उसले स्टेटमेन्टबिनै तलब वितरण गरेको समेत भेटिएको छ । ०७६ चैतपूर्व भने उसले कुन शीर्षकमा कति रकम दिइएको हो, खुलाएरै कर्मचारीलाई स्टेटमेन्ट उपलब्ध गराउने गथ्र्यो । यद्यपी कम्पनीले नयाँ विमान थप्ने क्रम भने जारी नै छ।

०७६ चैतबाट पूरा तलब नदिएको बुद्धले ०७८ कात्तिकबाट भने खाइपाई आएको पूरै तलब दिन सुरु गरेको जनाईउको छ । बहुसंख्यक कर्मचारीको शोषण गरेको आरोप खेपिरहेको बुद्धले बढी काम लाग्ने पाइलट–इन्जिनियर र हेड अफिसका कर्मचारीलाई भने पूरै तलब सुविधा उपलब्ध गराइरहेको एक कर्मचारी बताउँछन् ।

श्रम ऐन बिपरित दैनिक ९ घण्टा ओभरटाइम
श्रम ऐन अनुसार रोजगारदाताले श्रमिकलाई प्रतिदिन आठ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन पाइँदैन । यदि रोजगारदाताले कुनै श्रमिकलाई बढी समय काममा लगाउनु परेमा प्रतिदिन चार घण्टा र एक हप्तामा २४ घण्टाभन्दा बढी नहुने गरी लगाउन सकिनेछ । त्योभन्दा बढी इन्गेज गराउनु गैरकानूनी हो। 

यसरी श्रमिकलाई बढी समय काममा लगाउँदा नियमित रूपमा काम गर्दा पाउने आधारभूत पारिश्रामिकको डेढी पारिश्रमिक दिनुपर्ने ऐनमा उल्लेख छ ।  तर बुद्धका कर्मचारी ऐनविपरीत दैनिक ९ घण्टासम्म ओभरटाइम काम गर्न बाध्य छन् । यसरी ओभरटाइम काममा पेलाउँदा बुद्धले अधिकृतस्तरका कर्मचारीलाई प्रतिघण्टा ६२ रूपैयाँ र लोडरहरूलाई प्रतिघण्टा ४५ रुपैयाँमात्रै दिन्छ ।

कम्पनीको जवाफ अस्पष्ट
कामदारले तलब सुविधाका विषयमा गुनासो गर्न थालेपछि कयौं पटक त्यस विषयमा समाचारहरु सार्वजनिक भएको छन् । तर, त्यो गुनासो सम्वोधन गर्नुको सट्टा बुद्धले समाचार नै हटाउन तथा झुठो वनाउन चलखेल गर्ने गरेको छ।

केही समय अघि नेपाल आजले प्रकाशित गरेको समाचारका विषयमा वुद्ध एयरले खण्डन लेखेर पठाएको थियो। उक्त खण्डन समेत हामीले जस्ताको तस्तै प्रश्तुत गरेका छौं।

 

यो पनि

बुद्ध एयरको ज्यादतीः यस्तो छ एयर होस्टेज र अन्य कर्मचारीको तलव !
थोत्रा विमानमा बुद्ध एयरको लापरबाही, बुद्धले लैजाला ज्यान

बुद्ध एयर

विशेष