News

कमल थापाले किन छोड्न सकेनन् राजतन्त्रको निशानी 

कमल थापाले किन छोड्न सकेनन् राजतन्त्रको निशानी 

राप्रपाको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोपलगाउँदै पार्टी छोडेका कमल थापालाई राजतन्त्रको मुद्दा छोड्न सकस परेको छ। उनले राजतन्त्रको मुद्दा छोडेको घोषणा गरेपनि यो निर्णय आफनै लागि आत्मघाति हुन सक्नेमा उनी शसंकित देखिएका छन् ।

राप्रपा नेपालका अध्यक्ष थापाले शुक्रवार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एउटा पोस्टरले उनले अहिले पनि राजतन्त्रलाई भजाएर राजनीतिको रोटी सक्ने खोजेको स्पष्ट हुन्छ। राजतन्त्रको एजेण्डा छोडेर गणतन्त्र स्वीकार्दै राजनीतिक यात्रा सुरु गर्न लागेका थापाले सार्वजनिक गरेको पोस्टरको पृष्ठभूमिमा पृथ्वीनारायण शाहकै तस्बिर छ।

गत मङ्सिरमा सम्पन्न राप्रपाको निर्वाचनमा आफूलाई निर्मल निवासले हराएको निष्कर्षका साथ पुरानो पार्टी र राजतन्त्रको एजेण्डा नै छाडेका कमल थापाले पृथ्वीनारायण शाहको फोटो प्रयोग गर्नु आफैमा अनौठो हो । कतिपयले भने गणतन्त्र स्वीकारेर राजतन्त्रलाई पाखा लगाउँदा पार्टी नचल्ने हो कि भन्ने भयका साथ साङ्केतिक रूपमा थापाले पृथ्वीनारायणको शाहको तस्बिर प्रयोग गरेको बताएका छन् । उनको यो चतुर्याईले पूर्वराजा ज्ञानेन्द्रसँग रिसाएपनि थापाको मनमा अझै पनि राजतन्त्रप्रति लगाब छ भन्ने देखाउन काम गर्ने उनीहरुको भनाई छ।

राजनीतिको लामो समय राजतन्त्रको पक्षमा राजनीति गरेरका थापालाई राजतन्त्रको मुद्दा छोडेपछि एजेण्डाको पनि खाँचो छ। राजतन्त्रको एजेण्डा भजाएर गणतन्त्रवादीसँग सहकार्य गर्दै सत्ताको बार्गेनिङ र स्वार्थको राजनीति गरेको आरोप उनीमाथि छँदैछ। त्यो भन्दा ठुलो आरोप शक्तिमा नहुँदा पार्टी नै छाडेर नयाँ पार्टी बनाएको आरोप उनीमाथि वजारिएको छ।

यही विचमा गणतन्त्रको मुद्दा बोक्दा विगतमा साथ दिएकाहरूले साथ नदेलान्की भन्ने उनलाई आशंका छ। राप्रपामा रहेका उनी निकट मानिने कतिपय नेताहरू अझै पनि थापातिर खुलिसकेका छैनन्। भुवन पाठक बुद्धिमान तामाङ जस्ता नेताहरूले त यसअघि नै राप्रपा मै रहने बताइसकेका छन् । 


थापाले अहिले बोक्न लागेको एजेण्डा गणतान्त्रिक हिन्दुराष्ट्रको हो । विगतमा राजसंस्थासहित हिन्दुराष्ट्रको एजेण्डा बोकेकै कारण तत्कालीन राप्रपाले संविधानसभामा २४ सिट जितेको थियो । तर, थापा पटक पटक सत्तामा जाँदा पार्टीभित्रकै तीव्र अन्तर्विरोध र एजेण्डामा अस्थिर हुँदा नराम्रो धक्का पुग्यो भने जनाधार खस्किन पुग्यो । अब, एजेण्डागत रूपमा पनि अन्य दलहरूभन्दा पृथक नभएकाले जनधार प्राप्त गर्नै सकस छ, उनलाई । 

यद्यपी एउटा अवसर उनका लागि वाँकी नै छ। बहुसंख्यक जनता हिन्दुधर्मावलम्बी छन् भने उनीहरू कुनै न कुनै रूपमा हिन्दुराष्ट्रप्रति आस्था राख्छन् । यस्तै देशमा भ्रष्टाचार, बेथिति, अराजकता मौलाएको सन्दर्भमा यसविरुद्ध इमान्दार भएर लाग्ने हो भने जनमत प्राप्त हुने सक्ने ठाउँ छ। तर, त्यसका लागि थापाले विगतको गल्तीमा आत्मालोचना गर्दै इमान्दार प्रयास गर्नु पर्ने देखिन्छ।

थापाले आजै औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्ने कार्यक्रम छ। नयाँ पार्टी घोषणा गरेसँगै परम्परागत विचारधारा बोकेको राप्रपा फेरि दुई वटा भएको छ भने कमजोर अवस्थामा रहेका यी दुई पार्टी आफैँ प्रतिस्पर्धी पनि बन्ने भएका छन् ।

अर्कोतर्फ गणतन्त्र स्वीकारे पनि थापाले राप्रपाकै राजावादी धार पार्टीमा भित्र्याउनुपर्ने अवस्था छ। त्यसैले उनी राजतन्त्रलाई गाली गर्दै हिँड्ने अवस्था पनि छैन । आफू नै लामो समय राजतन्त्रकै छत्रछायाबाट राजनीति गरेकाले थापालाई राजतन्त्र विरुद्ध निस्कन नैतिक रुपमा संकट छ। त्यसैले उनले अहिले पनि पृथ्वीनारायण शाहको फोटो छोडन् नसकेको जानकारहरु वताउँछन् । 
 

कमल थापा

विशेष