News अर्थ अपराध सुरक्षा

पुष्टि नहुदै चट्टानलाई युरेनियम भनिएपछी...  

पुष्टि नहुदै चट्टानलाई युरेनियम भनिएपछी...  

प्रहरीले गत सोमवार काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटल परिसरबाट ‘युरेनियम’ जस्तो देखिने चट्टानसहित ८ जनालाई नियन्त्रणमा लियो। पक्राउ पर्नेमा नेपाली कांग्रेस ललितपुरका नेता नवराज महतसहित छन् । बरामद चट्टान के हो भन्ने विषय भने अझै पुष्टि भएको छैन।

युरेनियमको संकलन, भण्डारण तथा विक्री वितरण भइरहेको सूचनापछि प्रहरी प्रधान कार्यालय र प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले सोमबार साँझ हायात होटलबाट उक्त चट्टानसहित सिन्धुपाल्चोक घर भई कपन बस्ने ३४ वर्षीय भुपेन्द्र खड्का, ललितपुरका ६० वर्षीय नवराज महत, सिन्धुपाल्चोक घर भई महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिराहा घर भई ठमेल बस्ने ४० वर्षीय गोपीलाल दास, ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई गोकर्णेश्वर, शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, महोत्तरी एकाडाराका ४४ वर्षीय राजु ठाकुर र भारतको बिहारस्थित गया चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्र कुमार मिश्र पक्राउ परेका थिए ।

प्रहरीका अनुसार होटलमा पार्किङ गरी राखेको बा ५ च ८२०९ नं. को कारभित्रबाट दुई किलो ८ सय ग्राम तौल भएको चट्टान वरामद भएको थियो । बरामद भएको चट्टान युरोनियम भए त्यसको मुल्य झण्डै ३५ करोड मुल्य वरावरको हुने प्रहरीको भनाई छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार युरेनियम जस्तो देखिने पदार्थ युरेनियम नै हो भन्ने सकिने अवस्था छैन। ‘उक्त पदार्थलाई परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठान र भू–गर्भ विभागमा पठाइएको छ, त्यहाँबाट रिपोर्ट आएपछि मात्रै यकिनसाथ भन्न सकिन्छ’– उनले भने।

के हो युरेनियम ?
युरेनियम अत्यन्तै दुर्लभ र बहुमूल्य धातु हो। बिना इजाजत त्यसको कारोबार तथा बिक्री गर्न पाईदैन। यसलार्य सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातुका रुपमा लिईन्छ। 

युरेनियम मुख्यतया दुई प्रकारका हुन्छन्– युरेनियम–२३८ र युरेनियम–२३५। प्राकृतिक रूपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बन्छ।

एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्ति सरह हुन्छ। एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ। तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ।

नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ। युरेनियम ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा उपयोग हुन्छ। युरेनियम सुनको भाउभन्दा चार हजार ५ सय गुणा बढी छ भन्ने दाबी गरिन्छ।

युरेनियम हायात

विशेष