News राजनीति

'जसपा र लोसपाका नेताले मुद्दा बेचेर मुद्रा कमाए'

'जसपा र लोसपाका नेताले मुद्दा बेचेर मुद्रा कमाए'

सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा जनसंख्याका आधारमा ५४ प्रतिशत स्थानीय तह हुनु पर्ने माग गरेको छ। जनगणना ०७८ को नतिजा अनुसार तराई/मधेशको जनसंख्या ५३ दशमलब ६६ प्रतिशत भएकोले सोही अनुपातमा मधेशमा स्थानीय तहको पूनःसंरचना गर्नु पर्ने माग जनमत पार्टीले अघि सारेको हो।

सामुदायिक संघीयताको अवधारणा अनुरुप जनसंख्याको आधारमा राज्यको पूनर्संरचना हुनु पर्ने मागलाई जनमत पार्टीले अगाडि सारेको छ। स्थानीय तहको निर्वाचनको तयारी भइरहँदा जनगणनाको पनि ताजा नतिजा आएकोले जनसंख्याको आधारमा स्थानीय तहको पूनर्संरचना गर्नुपर्ने जनमत पार्टीका नेता बीपी साहले बताए।

‘शासन जनतामाथि गर्ने हो र कर जनताले तिर्ने हो। बन जंगलले होइन’ नेता साहले भने ‘हिमाल–पहाडबाट तराई मधेशमा बसाईसराई बढेको छ। तराई मधेशको जनसंख्या बढेको छ। त्यसकारण शासकिय निकायलाई चुस्तदुस्त राख्न पनि तराई मधेशमा स्थानीय तहको संख्या थप गर्नु पर्छ।’

तराई मधेशको जनसंख्या झण्डै ५४ प्रतिशत रहेकोले सोही अनुपातमा स्थानीय तहको पुनर्संरचना हुनु पर्ने नेता साहले माग गरे। अहिलेको शासन व्यवस्थामा स्थानीय तहलाई शक्तिशाली बनाइएकोले स्थानीय तह थप गरी तराई–मधेशका जनतालाई सहज सुविधा दिनु पर्नेमा उनले जोड दिए।

‘स्थानीय तहको पुनर्संरचना हुँदा असमान रुपमा भएको थियो। जसको विरोध विभिन्न क्षेत्रमा देखिकै थियो। अहिले जनसंख्याका आधारमा पुनर्संरचना गरौं। समानता प्रदान गरौं’ नेता साहले भने–‘तराई मधेशका जिल्लामा एउटै वडामा ठूलो जनसंख्या रहेकाले जनताले सेवा पाउन कठिन छ। अहिलेको संरचनाअनुसार पालिकामा पनि समस्या छ। त्यसकारण जनसंख्याको आधारमा पालिका थप गर्नु पर्छ।’

जनसंख्याका आधारमा प्रतिनिधित्वको कुरा अन्य दलले पनि उठाएको प्रसंगमा नेता साहले भने ‘जनसंख्याको आधारमा प्रतिनिधित्विको मुद्दा मधेश आन्दोलनबाट उठेको हो। तर, मधेश आन्दोलनबाट सत्तामा पुगेका दलहरुले मुद्दालाई मन्त्री पदसँग साटे। जसपा वा लोसपा जस्ता दलहरु सत्तामा पुगे पनि मधेश आन्दोलनको मागलाई सम्बोधन गराउन तिर लागेनन्। उनीहरु मधेश मुद्दा बेचेर मुद्रा कमाउनतिर लागे। त्यही भएर जनमत पार्टीले मधेश आन्दोलनको मुद्दालाई पुरा गराउन लागेको छ।’

जनमत पार्टीले पुष १२ गते नै नेपाल सरकारलाई पत्राचार गर्दै स्थानीय तहको निर्वाचनअघि जनसंख्याको आधारमा स्थानीय तहको पुनर्संरचना हुनु पर्ने माग गरिसकेको नेता साहले जानकारी दिए। मधेशमा स्थानीय तह थप नभए निर्वाचन गर्न कठिन हुने चेतावनी समेत उनले दिएका छन्।
 

जनमत पार्टी बीपी साह

विशेष