News

पत्रकार यादव पौडेलका हत्यारालाई आम माफी

पत्रकार यादव पौडेलका हत्यारालाई आम माफी

पत्रकार यादव पौडेलको हत्याका मुख्य आरोपी युवराज गिरीले आम माफी पाएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा कैद भुक्तान गरिरहेका गिरीलाई शनिबार माफी दिएकी हुन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा भण्डारीले गिरीसहित ५०१ जनाको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिदिएकी हुन् । आममाफीका लागि गिरी आफैँले गरेको अपिलका आधारमा राष्ट्रपतिले आममाफी दिएको झापा कारागार स्रोतले जनाएको छ ।

मोरङ सिजुवा घर भएका पत्रकार पौडेलको २१ चैत २०६८ मा झापाको बिर्तामोडस्थित बसपार्कमा हत्या भएको थियो । तीन तलामाथिबाट खसालेर हत्या गरिएका पत्रकार पौडेल त्यतिबेला राजधानी दैनिक र एभिन्युज टेलिभिजनमा कार्यरत थिए । अस्पतालको पोष्टमार्टम रिपोर्टमा पौडेलको टाउको र फोक्सोमा रगत जमेको, कलेजो फुटेको, तीनवटा करङ तथा देब्रे हात भाँचिएको उल्लेख थियो ।  

पुनरावेदन अदालत, इलामले २५ असार २०७१ मा पत्रकार पौडेलको हत्यामा संलग्न गिरीसहित ३ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । यसअघि झापा जिल्ला अदालतले मुुख्य अभियुक्त गिरीलाई मात्रै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

गिरी पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पनि गएका थिए । सर्वोच्चले पनि पुनरावेदन अदालतको फैसलालाई सदर गरेपछि गिरीका अगाडि न्यायिक अपिलको अदालती ढोका बन्द भएको थियो । तर, गिरीले कारागार प्रशासनमार्फत आममाफीका लागि पहल थालेका थिए ।

अदालतको आदेशपछि पत्रकार पौडेलको हत्या अभियोग लागेका होटल सञ्चालक सोम ढकाल फरार भएका थिए भने उनकी श्रीमती भनिएकी फूलमाया कार्की भनिने मञ्जु ढकाल थुनामा गएकी थिइन् । अर्का आरोपी मदन राईलाई ६ महिनाको कैद सजाय सुनाइएको थियो । गिरीले पत्रकार पौडेलको हत्या अभियोगमा करिव १० वर्षदेखि झापा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका गिरीले आममाफी पाएको पुष्टि गरे । मुलुकी अपराध (संहिता) २०७४ को दफा १५९ मा भएको माफीसम्बन्धी व्यवस्था अनुसार गिरीले आममाफी पाएका हुन् । ऐनमा फैसलाबमोजिम सजाय पाएको व्यक्तिले गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिने प्रावधान छ ।

पत्रकार पौडेलकी श्रीमती सुनम पौडेलले गिरीलाई आममाफी दिइएकोप्रति दुःख प्रकट गरेकी छन् । पत्रकार पौडेलको हत्यापछि नेपाल पत्रकार महासंघले उनका दुई वटा छोराछोरीको पठनपाठनको दायित्व लिने घोषणा गरेको थियो । तर, महासंघबाट पनि भने अनुसार सहयोग नपाएको उनले दुःखेसो गरिन् ।
 

पत्रकार यादव पौडेल

विशेष