News

भारतीय दुतावासमा मनाईयो ७४औं सेना दिवस

भारतीय दुतावासमा मनाईयो ७४औं सेना दिवस

भारतको ७४ औं सेना दिवसको अवसरमा फागुन ८ गते काठमाण्डौं स्थित भारतीय दूतावसमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ। भारतीय दुतावासको को रक्षा प्रभागले कार्यक्रमको आयोजना गरेको हो।

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) केएम करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतमा सेना दिवस मनाईन्छ । 

कार्यक्रममा नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा जनरल प्रभुराम शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए भने नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी, थिंक ट्यांकका सदस्य र पत्रकारहरुको पनि उपस्थिति थियो  । 

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशलाई सम्बन्धलाई जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे। भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।

राजदूत क्वात्राले सन् २०२१ डिसेम्बर आठमा हवाई दुर्घटनामा परि श्रीमती मधुलिका रावत र अन्य ११ जना सैनिक सहित दिवंगत भएका जनरल विपिन रावत प्रति श्रद्धञ्जलि अर्पण गरे। प्रमुख अतिथी शर्माले भारतका सेनाध्यक्ष एवम नेपाली सेनाका मानार्थ महारथी जनरल एमएम नरवणेलाई भारतको ७४ औं सेना दिवसको अवसरमा शुभकामना व्यक्त गरे।

उनले दुई देशका सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्यबारे चर्चा गर्दै कोभिड–१९ महामारी विरुद्घको लडाइँमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोग र नेपाली सेनाको आधुनिकिकरणमा भारतीय सेनाले खेलेको भूमिकाको प्रशंसा गरे।
 

सेना दिवस

विशेष