मन्त्री आलेको एक एक्सनले सरकारको खातामा जम्मा भयो ८१ करोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको एउटै एक्सनबाट सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व जन्मा भएको छ। आलेले याक एण्ड यतिको लाइसेन्स खारेज गरिदिएपछि यति ठुलो मात्रामा राजश्व संकलन भएको पाईएको हो ।
हुन त मन्त्री आलेले कामभन्दा वढि ‘स्टन्टबाजी’ गरेको आरोप लाग्छ । उनकै पार्टीका नेता कार्यकर्ता पनि उनको कार्यशैली प्रति रुष्ठ छन्। उनले विभिन्न राजनीतिक नियुक्तिदेखि ठेक्का रद्द प्रकरणमा समेत विवेकसम्मतभन्दा पनि स्टन्टबाजी गरेको आरोप लाग्छ।
एकीकृत समाजवादीको सोमबारको सचिवालय बैठकमै उनको कार्यशैलीमाथि पदाधिकारीहरूले प्रश्न उठाए। अध्यक्ष माधव कुमार नेपालको निर्देशनसमेत नमानेको र पार्टीका अन्य नेताहरू सम्पर्कमा समेत आउन नचाहेको भन्दै आलोचना भयो।
अघिल्लो साता अछामका एक युवकलाई अश्लील गालीगलौज गर्दै अपहरण गर्ने र ज्यान मार्नेसम्मको धम्की दिएपछि त मन्त्री आले थप विवादमा तानिएका छन् ।
तर, याक एण्ड यति माथिको कारवाहीपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्न ब्यापारीहरुको दौडधुप चलेको छ। केही कम्पनीले रोयल्टी तिर्नका लागि कागजपत्र लगेका छन्, केही दिनमा अरु पनि रकम उठ्ने सम्भावना बढेको छ ।
हालसम्म कम्तीमा पनि १७ कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने गोल्डेन फिङ्गर गेमिङ् जोन प्रालीले नयाँ क्यासिनो सञ्चालन गरेबापत २ करोड ५० लाख रुपैयाँ रोयल्टी बुझाएको छ। क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम १ अर्ब ११ करोड ८४ लाख ४७ हजार रुपैयाँ छ।
मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरण समेत सार्वजनिक गरेको छ । अब छ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।