एमालेसँग हात मिलाउँदै देउवा, सर्त सम्बोधन गर्न सकारात्मक

अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग हात वढाएका छन् । देउवा एमालेका माग सम्बोधन गर्न सकारात्मक देखिएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित भएलगत्तै संघीय संसद भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षीका माग सम्बोधन गर्न सकारात्मक देखिएका हुन्।
उनले एमसीसी पारितका लागि सरकारको साथमा उभिए एमालेका माग सम्वोधन गर्न तयार रहेको बताएका हुन्। उनले आफ्ना लागि सत्ता जोगाउने अंक गणितको सरोकार नभएको भन्दै एमसीसी संसदबाट पारित गराउने विषय नेपालको अन्तराष्ट्रिय सम्बन्ध र विश्वसनीयताको कुरा जोडिएको बताए ।
छलफलका क्रममा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग एमसीसी पारितका लागि कांग्रेस सबै विषयमा खुला छलफल गर्न पनि तयार रहेको बताए। ओलीले एमालेले कारवाही गरेका १४ जना सांसद वा सभामुखलाई हटाउनुपर्ने सर्त राखेका छन्।
ओलीले एमालेले कारबाही गरेका १४ सांसदको सूचना टाँस्नु पर्ने यदि त्यसो नभए सभामुख अग्नि सापकोटाले पदबाट बाहिरिनुपर्ने जनाउँदै आएका छन।