News

एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रचण्डको आग्रह, प्रधानमन्त्रीद्वारा अस्विकार

एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रचण्डको आग्रह, प्रधानमन्त्रीद्वारा अस्विकार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीको संसदीय प्रक्रिया रोक्न गरेको आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले अस्विकार गरेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आफ्नो अडानबाट पछि हटेर एमसीसीको विपक्षमा उभिने निर्णय सुनाउन पुगेका प्रचण्डलाई प्रधानमन्त्री देउवाले संसदीय सुनुवाई अघि वढ्ने जवाफ दिएका छन् ।

भेटमा प्रचण्डले संसदीय प्रकृया रोक्न आग्रह गरेपछि देउवाले भने त्यसो गर्न नसकिने जवाफ दिएको बताइएको छ। प्रचण्डले त्यसअघि आफ्नो निवासमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल गरेका थिए ।

तीन दलका शीर्ष नेताको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको थियो। छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिना संशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरूलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्विप जारी गर्ने नेता खनालले बताएका छन्।

माओवादी केन्द्रका नेता देव गुरुङले पनि एमसीसीको विपक्षमा मतदान गर्नेबारे छलफल भएको बताएका छन्। उनले संसद्मा हुने एमसीसीको छलफलमा भाग लिने र त्यसको लागि सभामुखलाई संसद्मा भइरहेको अवरोधलाई हटाउनका लागि आग्रह गर्ने पनि बताए।

सरकारले गत आइतबारको संसद् बैठकमा एमसीसी पेस गरिसकेको छ। प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि आजदेखि छलफल सुरु हुने छ। बैठकअघि बसेको संघीय संसदको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल अघि बढाउने सहमति भएको छ। 

दलहरुका बीचमा भएको सहमतिअनुसार सदनमा बोल्न चाहने सांसदहरुलाई बोल्ने समय ५ मिनेट दिइनेछ। 
 

एमसीसी

विशेष