News

महाकालीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता

महाकालीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता

महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता भएको छ। भारत सरकारको अनुदानमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने पुल निर्माणका लागि दुई देश बीच सम्झौता भएको हो ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकालीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बताइन्। पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाइमा पुर्याउने उनले विश्वास व्यक्त गरिन्।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपाल र भारतको सीमा जोड्ने महाकालीमा पुल बनाउने सम्झौता खुसीजनक रहेको बताए। उनले भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै कामहरू भइरहेको उल्लेख गर्दै उक्त क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।
उक्त पुलले सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दुतावासले जनाएको छ। 
 

महाकाली नदी

विशेष