News

ब्याख्यात्मक घोषणा अमेरिकाले मान्नु पर्छ, नत्र एमसीसी अगाडि बढ्दैनः गगन थापा 

ब्याख्यात्मक घोषणा अमेरिकाले मान्नु पर्छ, नत्र एमसीसी अगाडि बढ्दैनः गगन थापा 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसी सम्झौतामाथि नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणा अमेरिकाले मान्नु पर्ने वताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले सत्ता गठबन्धनले बनाएको ‘व्याख्यात्मक घोषणा’ अमेरिकाले नमाने एमसिसी अघि नबढ्ने पनि बताए। प्रचलित अन्तर्राष्ट्रिय कानुनले र नेपालको सन्धी ऐनले दिएको अधिकार प्रयोग गरेर व्याख्यात्मक घोषणा गर्न लागिएको भन्दै उनले व्याख्यात्मक घोषणामा दफावार छलफल गरेपछि संयुक्त राज्य अमेरिकाले त्यसलाई स्विकार्ने उनको दाबी छ ।

‘त्यो संयुक्त राज्य अमेरिकाले मान्छ । मान्नुपर्छ । नमानेदेखि सन्धी अगाडि बढ्दैन’ उनले भने–‘ किन ? हामीले यहाँबाट पारित गरिसके पछि हाम्रो सन्धी संगसंगै हाम्रो संसदले पारित गरेको व्याख्यात्मक घोषणा पनि संगसंगै जान्छ ।’ 

उनले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि हुन्छ भनेर हावा कुरा नगर्न पनि आग्रह गरेका छन् । विगतका सम्झौताहरुको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले झुट नबोल्न अन्य दलका सांसद र नेताहरुलाई उनको आग्रह छ।

’धेरै झुट नबोलौं, हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भन्देका छौं, यो हदसम्मको हावादारी कुरा गर्ने ?,’ उनको प्रश्न थियो–‘नेपालको संविधानभन्दा माथि केही हुन्छ? अनि नेपालको कानुनसँग सन्धिमा भएको कुरा बाझियो भने सन्धि लागू हुन्छ भन्ने ? अहिल्यै गएर अरु दिनको सम्झौता पल्टाएर हेर्नुस् त । मेलम्चीको सम्झौता पल्ट्याएर हेर्नुस् त । सबै सम्झौताको स्ट्यान्डर्ड फर्म्याट होइन ? ।’

सांसद थापाले तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइरालाबाहेकका संसद्मा उपस्थित सबै दलको सरकारका पालामा एमसीसी सम्झौताको विषयमा केही न केही निर्णय भएको समेत बताएका छन् । उनले पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीहरुलाई आफ्नो मन्त्रिपरिषद्ले गरेका निर्णयहरु पल्टाएर हेर्न आग्रह गर्दै संसद् र जनता सामु झुट नबोल्न भनेका हुन् ।

गगन थापा एमसीसी

विशेष