News राजनीति

प्रधानमन्त्रीसँग प्रचण्डको भेटः एमसीसीका कारण चिसिएको सम्वध सुधारको प्रयास

प्रधानमन्त्रीसँग प्रचण्डको भेटः एमसीसीका कारण चिसिएको सम्वध सुधारको प्रयास

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका थिए ।

तीन जना बीच करिब एक घण्टा कुराकानी भएको थियो। भेटमा गृहमन्त्री बालकृष्ण खाँड र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि थिए ।

पछिल्लो समय सत्ता गठवन्धनको सम्वन्ध चिसिएको छ। प्रधानमन्त्री देउवाले सदनको यही सत्रबाट अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने मुड बनाएपछि सत्तारुढ दलको सम्बन्ध चिसिएको हो। सत्तारुढ अन्य दल सहमत नभएमा एमालेसँग मिलेर भए पनि एमसीसी पास गराउने रणनीतिमा देउवा लागेपछि प्रचण्ड र नेपाल सशंकित भएका छन्। 

यही विषयमा कुरा गर्न देउवाले दाहाल र नेपाल निवासमा दूतहरु पठाउन थालेपछि आज उनीहरु विच भेटवार्ता भएको हो। देउवाले मंगलबार माओवादी अध्यक्ष प्रचण्डसँग संवादका लागि नेताहरु पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीलाई खुमलटार पठाएका थिए। यसैगरी, गृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहान नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका थिए। 

नेताहरुका पछिल्ला भेटघाटलाई स्थानीय तहको निर्वाचनको विषयसँग जोड्न खोजिएपनि एमसीसीका कारण सुरु भएको चिसोपना मेटाउने प्रयास भएको नेताहरु वताउँछन् ।

करिब ५६ अर्ब रुपैयाँको एमसीसी परियोजनालाई संसदबाट अनुमोदन गराउन देउवाले अड्डी कसेपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल र अध्यक्ष नेपाल बिच्चिएका छन्। यसलाई लिएर सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी असन्तुष्ट देखिएको छ।

माओवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपाल गठबन्धन फुटे पनि एमसीसी यथाअवस्थामा पास नगर्ने पक्षमा उभिएका छन्। उनीहरुले अहिलेको अवस्थामा संशोधन नगरी एमसीसी पास गर्नै नसकिने अडान लिएका छन्। तर देउवाले भने एमालेसँग साथ लिएर भए पनि एमसीसीलाई सदनको यही सत्रबाट पास गराउने रणनीति बनाएका छन्। 

प्रधानमन्त्री देउवाले आगामी फेब्रुअरी अन्तिमसम्म एमसीसी पास गर्ने योजना बनाएका छन्। 
 

शेरबहादुर देउवा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल

विशेष