News विदेश

पाकिस्तानमा प्रहरी दमनका बाबजुद किसानद्वारा प्रदर्शन जारी 

पाकिस्तानमा प्रहरी दमनका बाबजुद किसानद्वारा प्रदर्शन जारी 

 


लाहोर। पेट्रोलियम पदार्थको मूल्यवृद्धि, मल संकट र कम्पोष्टको उच्च मूल्यको विरोधमा किसानहरूले आन्दोलन जारी राख्‍ने वाचा गरेका छन्। प्रहरीले मंगलबार सहरको दक्षिणी प्रवेशद्वारमा सयौंलाई कुटपिट र पक्राउ गरेको थियो। 


विभिन्न जिल्लाका किसानहरुको प्रतिनिधित्व गर्ने संस्था किसान बोर्ड पाकिस्तानका सदस्यहरु बिहान ठोकर नियाज बेगमा भेला भए र मुल्तान रोड अवरुद्ध गरी आफ्ना मागहरु पूरा गर्न सरकारलाई दबाब दिएका हुन्। 


प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले दिउँसोसम्म धर्नामा सहभागी दुई सय जनालाई लाठीचार्ज र पक्राउ गरेको थियो। लगत्तै जिल्ला प्रशासन कार्यालयले पक्राउ गरेका सहकर्मीलाई रिहा गर्ने आश्वासन दिएर आवागमनमा केही बाटो खुला गर्न आन्दोलनकारीलाई आग्रह गरेको थियो। 
उनीहरुको रिहाईका लागि साँझसम्म वार्ता जारी थियो। 

केबीपीका उपाध्यक्ष अमानुल्लाह चट्ठाले आफ्ना सहकर्मीलाई रिहा नगरे अनिश्चितकालका लागि धर्ना दिने बताएका छन्। 

लाठी चार्जमा दुई जना आन्दोलनकारी गम्भीर घाइते भएका र उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको उनको दाबी छ। 


उनले मुलुकमा ऐतिहासिक रूपमा महँगो मूल्यमा मल बिक्री भइरहेका बेला पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर १० रुपैयाँभन्दा बढीको वृद्धि गर्नुले कृषक समुदायको घाउमा नुन छर्किने काम गरेको बताए। 

सरकारले घोषणा गरे बमोजिम प्रतियुनिट विद्युत् महसुल ३.९ रुपैयाँ बढाउँदा उपभोक्तामाथि दुई खर्ब १६ अर्बको भार थपिने उनको भनाइ छ। 
तेलको मूल्य प्रतिलिटर १ सय ६० रुपैयाँ नाघेको छ। 

मलको कृत्रिम संकट सिर्जना गरी डीएपी (डाइ अमोनियम फस्फेट) झोलामा कम्तीमा दुई गुणा र युरियामा एक हजार रुपैयाँभन्दा बढी कम्पोष्ट मलको मूल्य बढाएर किसानको ‘आर्थिक हत्या’ भएको उनको भनाइ छ। dawn

विशेष