News

एमसीसी संसदमा पेश गर्न सभामुखका यस्ता छन् तीन सर्त

एमसीसी संसदमा पेश गर्न सभामुखका यस्ता छन् तीन सर्त

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सर्वत्र चासो छ । जति एमसीसी पास गर्ने पक्षमा चर्चा छन् त्यसैगरी विरोधका स्वर पनि छन्। 

एमसीसीका विषयमा सत्ता गठबन्धनमा रहेका पाँच दल पनि तीन समूहमा विभाजित छन् । कांग्रेस र जसपा जस्ताको त्यस्तै पास गर्ने पक्षमा छन् । माओवादी केन्द्र र एकिकृत समाजवादी संशोधन गरे मात्र पास गर्ने पक्षमा छन् भने राष्ट्रिय जनमोर्चा कुनै हालतमा पास गर्न नहुने पक्षमा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी फेब्रुअरी १ भित्रै संसद्मा प्रस्ताव गर्ने सोचमा छन । तर, सभामुख अग्निप्रसाद सापकोटाको भुमिकाका कारण एमसीसी संसद्मा पेश नै नहुने सम्भावना पनि उत्तिकै छ। सापकोटा एमसीसी संसदमा पेश गर्नै नदिने पक्षमा रहेको चर्चासम्म चलिरहेको छ । उनको यहि अडानका कारण माघ १६ गतेलाई बोलाइएको संसद् बैठक प्रचण्डको निर्देशनमा एकाएक स्थगित गरेर माघ २६ गतेलाई सारिएको चर्चा पनि छ ।

होहल्लाका बीच एमसीसी पास गर्ने तयारी भए आफ्नो साथ नरहने सभामुखले प्रष्ट बताउने गरेका छन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले छलफलहरुमा मुख्य गरी तीनवटा विषय राख्ने गरेका छन्, पहिलो– एमसीसीमा राष्ट्रिय सहमति, दोस्रो– एमसीसीमा जनस्तरबाट उठेका प्रश्नको निरुपण र तेस्रो– संसदको अवरोध अन्त्य ।

सत्ताका लागि र निर्वाचनमा जानका लागि दलहरु एकमत भएजस्तै एमसीसीको विषयमा पनि एकमत हुँदा राम्रो हुने सभामुखको धारणा छ । सापकोटा निकट श्रोतका अनुसार एमसीसीबारेमा सभामुखले नेपाली जनताको भाग्य र भविष्यसँग जोडिएको विषय भएकाले यो विषयलाई संसद्मा ल्याउँदा दलहरूका बीचमा राष्ट्रिय सहमति हुनुपर्ने वताउँछन। 

एमसीसीबारे उठेका प्रश्नको यथोचित जवाफ दिने वातावरण संसद्मा बन्नुपर्ने उनको धारणा छ। एमसीसी यथावस्थामा संसद्मा जान सक्दैन । पाँच महिना हुन लाग्यो विपक्ष दलले संसद् अवरोध गरिरहेको छ । अवरोधकै बीचमा एमसीसीलगायत अन्य विषयमा संसद्मा टेबल हुँदैन । सामान्यतया संसद्मा विपक्ष दलले विरोध गरिरहँदा एमसीसी संसद्मा जाँदैन । 

सभामुख सापकोटाले एमसीसी बजेट जसरी संसदबाट पास हुँदैन भन्ने गरेका छन् । सभामुखलाई पछिल्लो समय भेटेका एक नेताले उनको भनाइ उद्धृत गर्दै भनेका छन्, ‘संविधान र कानुनले मेरो भूमिका तय गरेकै छ । एमसीसीका विषयमा सर्वदलीय सर्वपक्षीय रुपमा सहमत भएर आउनुस् न । दलहरु निर्णायक हुँदा मेरो अरु केही भन्नु छैन ।’

अग्निप्रसाद सापकोटा एमसीसी)

विशेष