News राजनीति

जनमत पार्टीको किसान आन्दोलन– मोरङदेखि बर्दियासम्म यातायात बन्द

जनमत पार्टीको किसान आन्दोलन– मोरङदेखि बर्दियासम्म यातायात बन्द

डा. चन्द्रकान्त राउत (सीके राउत) नेतृत्वको जनमत पार्टीको अगुवाईमा भइरहेको किसान आन्दोलन अन्तर्गत विहिवार मोरङ्गदेखि बर्दियासम्म लोकमार्ग बन्द गरी प्रदर्शन गरिएको छ। विहानैदेखि लोकमार्गमा टेन्ट लगाएर बसेका कार्यकर्ताहरुले लोकमार्ग अवरुद्ध गरेका छन्।

करिव डेढ महिनादेखि आन्दोलन भइरहँदा पनि सरकारले आफूहरुको माग नसुनेको भन्दै किसानहरु लोकमार्ग बन्द गरी प्रदर्शनमा उत्रिएका हुन्। जनमत पार्टीका नेता बीपी साहका अनुसार पुस ९ गतेदेखि किसानहरुले विभिन्न चरणको विरोधका कार्यक्रमहरु गरिसकेका छन्। तर, हालसम्म पनि सरकारले सुनवाई नगरेकोले विहीबारबाट सडकमै बस्ने खाने गरी लोकमार्ग अवरुद्ध गरेर प्रदर्शन सुरु भएको हो।

नेता साहका अनुसार लोकमार्गमा स्कुल, फलफुलसहित अतिआवश्यक सवारीसाधन बाहेकका सवारीहरु दिउँसोका लागि बन्द गरिएको छ। सरकारले किसानहरुको माग सम्बोधन नगरे आन्दोलन थप शसक्त हुँदै जाने साहले चेतावनी दिए।

किसानलाई समयमा मलखाद उपलब्ध गराउन, उखु किसानको भुक्तानी गराउन, किसान कार्डको व्यवस्था गर्न, किसानलाई पेन्सनको व्यवस्था गर्न, कृषकलाई निःशुल्क विजुली दिलाउनका लागि जनमत पार्टीको नेतृत्वमा किसान आन्दोलन भइरहेको छ।

नेता साहका अनुसार किसान आन्दोलनमा विभिन्न पार्टीको समर्थन र विभिन्न किसान संगठनहरुको सहभागिता छ। सरकारले माग पुरा नगरेसम्म किसान आन्दोलन जारी रहने उनले बताए।

जनमत पार्टी किसान आन्दोलन

विशेष