News राजनीति

अस्थिर प्रचण्डः ६ पटक फेरे आफनो र पार्टीको नाम

अस्थिर प्रचण्डः ६ पटक फेरे आफनो र पार्टीको नाम

अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को संसदीय अनुमोदनका लागि दबाव बढेसँगै राजनीतिक वृत्तमा हलचल छ । अमेरिकाले दिएको १ फेब्रुअरी २०२२ को समयसीमा सकिएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १५ सम्मको समय लिएको चर्चासँगै राजनीतिक माहोल अझै पनि तातेकै छ। 

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा एमसीसीलाई जसरी पनि संसदबाट अनुमोदन गराउन प्रयासरत छन् भने सत्तारुढ गठबन्धनका ठूला दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यथास्थितीमा यो सम्झौता पारित होस भन्नेमा छैनन्।

योसँगै कतै गठबन्धन नै धरापमा त पर्ने होइन भन्ने संशय पनि पैदा भएको छ । तर, यसैविचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठवन्धन जोगाउने दुई वटा विकल्प अघि सारेका छन् । अहिले गठबन्धनमा ती दुई विषयमध्ये एकमा सहमति कायम गराउने प्रयास भइरहेको अध्यक्ष प्रचण्डले बिहीबार बताए।

ती दुई विकल्पमध्ये पहिलो, चुनावपछि मात्रै एमसीसी सम्झौता अघि बढाउने। र, अर्को सम्झौताका विषयवस्तु नै परिमार्जन गर्ने। प्रचण्डले एमसीसी सम्झौतालाई आगामी चुनावपछि मात्रै अघि बढाउने लगभग समझदारी भएको बताएका छ।

खास गरी प्रचण्डकै कारण एमसीसी गिजोलिदै गएको छ। यसमा उनको अस्थिर प्रवृत्ति प्रमुख जिम्मेवार छ। केही समयअघि प्रचण्ड र प्रधानमन्त्री देउवाले पत्र लेखेरै एमसीसी संसदबाट पारित गर्ने भन्दै अमेरिकालाई आश्वास्त पारेका थिए । तर, अहिले आएर उनै प्रचण्ड एमसीसी संसदमा पेश नहोस भनेर लागि परेका छन्।

प्रचण्ड एमसीसी संसदमा पेस नै नहोस भन्ने चाहान्छन्। एमसीसी अनुमोदनकै लागि भनेर १६ माघका लागि डाकिएको संसदको बैठक सभामुखलाई लगाएर उनलेनै १० दिनका लागि स्थगित गराए। जसले गठबन्धन घटकहरूबीचको अन्तरसंघर्ष सतहमा आएको छ । यति मात्रै होईन, प्रचण्डले सुरु देखिनै एमसीसी प्रकरणमा सभामुखलाई प्रयोग गर्दै आएका हुन् । ‘प्रचण्ड’ले कृष्णबहादुर महराकै पालादेखि एमसीसीलाई संसदमा प्रस्तुत हुनबाट रोक्दै आएका छन् । 

प्रचण्डको अस्थिर कार्यशैली हेर्न यो प्रकरण मात्रै काफी छैन। उनको विगत झन अस्थिर छ। उनी नेपाली राजनीतिमा अस्थिर पात्रका रूपमा स्थापित भइरहेका छन् । उनको अस्थिरताको हद कतिसम्म तल झरेको छ भने मानिसले पूर्ववत् अडानबाट कुरा फे¥यो भने ‘प्रचण्डजस्तो भएछ’ भन्न थालेका छन् । अर्थात्, उनी अस्थिरता र अडानविहीनताका विम्ब बन्न पुगेका छन् ।

नाम फेर्न आतुरः प्रचण्डले आफनो र पार्टीको नाम समेत ६ पटक फेरे
प्रचण्डले आफ्नो नाम मात्रै छ पटक परिवर्तन गरिसकेका छन्। नारायणी विद्या मन्दिर चितवनमा कक्षा १० मा पढ्दै गर्दा उनको नाम छविलाल दाहाल थियो। उनले त्यहीँ नाम फेरेर पुष्पकमल दाहाल राखे।

त्यसपछि उनले भूमिगत कालमा पटक पटक आफ्नो नाम परिवर्तन गरे। पञ्चायतविरोधी आन्दोलनमा ०३८ सालमै भूमिगत भएका उनी एकैपटक ०६३ असार २ गते बालुवाटारमा सार्वजनिक भए। उनी ४६ सालको जनआन्दोलन र ४७ सालमा भएको कट्टर वामपन्थी दलहरूको एकतामा पनि सार्वजनिक भएनन्।

०४६ सालपछि केही वर्ष अर्ध भूमिगत रहेर जनयुद्ध सुरु भएपछि मात्रै भूमिगत भएका थिए। यसबीचमा उनले कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम राखे। त्यसअघि नै उनी छविलालबाट पुष्पकमल बनिसकेका थिए।

शिक्षक हुँदा योङ कम्युनिस्ट लीग भनिने वाम सङ्गठनमा आबद्ध भएका उनले आफ्नो नाम कल्याण राखे। मसालको केन्द्रीय सदस्य हुँदा उनी विश्वासका नामले चिनिए। वाम एकतापछि पार्टी निर्माणका लागि उनले आफनो नाम नै ‘निर्माण’ राखेको वताईन्छ। पछि क्रान्ति (युद्ध) मा जाने निश्चित भएपछि शान्तिवादी नाम (निर्माण) हटाएर उनले क्रान्तिकारी नेताको छवि वनाउन ‘प्रचण्ड’ नाम राखेको वताईन्छ।

उसो त, प्रचण्डका राजनीतिक आदर्श मानिने स्टालिनले पनि पटक पटक नाम परिवर्तन गरेका थिए । स्टालिन नाम राख्नुअघि उनको नाम कोबा थियो । उनको वास्तविक नाम भने जोसेफ भिसारिओनोभिच जुगासभिली हो। नाम फेर्ने विषयमा प्रचण्डले स्टालिनलाई पनि पछि पारेको माओवादीकै नेताहरु वताउँछन् ।

यसैगरी, आजसम्म आईपुग्दा प्रचण्डले पार्टीको नाम पनि ६ पटक परिवर्तन गरिसकेका छन्। प्रचण्ड राजनीति सुरु गर्दा तत्कालीन कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा आबद्ध थिए। ०४६ सालमा उनी महामन्त्री हुँदा पार्टीको नाम नेकपा मसाल थियो। दुई वर्षपछि ०४८ सालमा पार्टीको नाम एकता केन्द्र भयो। जनयुद्ध सुरु गर्नुअघि उनले पार्टीको नाम माओवादी राखे। संसदीय राजनीतिमा आएपछि उनको पार्टी र एकता केन्द्र मसालबीच एकता भयो। त्यसपछि उनले पार्टीको नाम एकीकृत माओवादी राखे।

त्यसपछि साना कम्युनिस्ट पार्टीहरूसँग एकता गरेर पार्टीको नाम माओवादी केन्द्र बनाए। तर एमालेसँगको एकता पछि त्यो नाम फेरिएर नेकपा मात्रै रह्यो। पार्टी एकता बदर भएपछि प्रचण्ड पुरानै माओवादी केन्द्रको अध्यक्ष छन्।

यो पनि

एमसीसी प्रकरणमा एमालेको धारणा माग्नु नौटंकी हो– बास्कोटा

एमसीसीका विषयमा देउवाको मनसाय वाहिरियो, गठवन्धन संकटमा

के देउवा एमसीसी सम्झौता संशोधन गर्न तयार भएका हुन ?

एमसीसी संसदमा पेश गर्न सभामुखका यस्ता छन् तीन सर्त

प्रधानमन्त्रीसँग प्रचण्डको भेटः एमसीसीका कारण चिसिएको सम्वध सुधारको प्रयास

एमसीसी पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष