News

३६ भाषामा ३० हजार गीत गाएकी लता मंगेशकरको निधनमा दुई दिन शोक

३६ भाषामा ३० हजार गीत गाएकी लता मंगेशकरको निधनमा दुई दिन शोक

३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी प्रख्यात गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुई दिन राजकीय शोकको घोषणा गरेको छ। भारत सरकारले आइतबार र सोमबार राजकीय शोक मनाउने घोषणा गरेको हो।

दुई दिन भारतको राष्ट्रिय झण्डा आधा झुकाइने छ भने अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने घोषणा भएको छ। अघिल्लो महिना कोरोना भाइरसबाट संक्रमित मंगेशकरको मुम्बईस्थित एक अस्पतालमा आइतबार बिहान ९२ वर्षको उमेरमा निधन भएको हो। केही दिनदेखि बिरामी भएपछि उनी अस्पताल भर्ना भएकी थिइन्। 

आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन्। मंगेशकरले नेपाली भाषामा समेत गीत गाएकी छन्।  आकाशको तिरमीर तारा म गन्न सक्दिन, जुन माटोमा जन्म्यौं हामी, बाचुन्जेलीलाई लगायत उनले गाएका नेपाली गीत हुन्।

२०२३ सालमा रिलिज भएको फिल्म ‘माइतीघर’को ‘जुन माटोमा मेरो’ लताले गाएको पहिलो नेपाली गीत हो। जुन तत्कालीन राजा महेन्द्र शाह (मविवि शाह)ले लेखेका थिए। लगत्तै मविवि शाहकै अर्को गीत ‘आकाशका तिर्मिरे म गन्न सक्तिनँ, मनको कुरा मुखमा ल्याई भन्न सक्दिनँ’ गीत समेत उनले गाएकी थिइन्। 

सन १९२९ मा मध्य प्रदेशको इन्दौर सहरमा जन्मिएकी लताका बुबा पण्डित दीनानाथ मंगेशकर पनि गायक थिए। उनको परिवार शास्त्रीय संगीतमा भिजेको थियो। उनले कहिलै औपचारिक शिक्षा लिएकी थिइनन्। एक कामदारबाट उनले मराठी र एक पुरोहितबाट संस्कृत शिक्षा हासिल गरेकी थिइन्। 

१९४० को दशकमा बुबाको निधनपछि जेठी छोरी लताले परिवार चलाउन अभिनय समेत गरेकी थिइन्। उनले आठ मराठी र केही हिन्दी फिल्ममा अभिनय गरेकी थिइन्। 

१९४९ मा ‘महल’ फिल्मका लागि उनले पहिलो गीत गाएकी थिइन्। १९६२ मा भारत–चीन युद्धका दौरान सहिद भएका भारतीय सैनिकको सम्मानका लागि लताले गाएको ‘ऐ मेरे वतन के लोगों’ गीत सुनेपछि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुका आँखा समेत रसाएका थिए। 

लता मंगेशकर

विशेष