News

कृषि ज्ञान केन्द्रको बझाङ चिनाउने अभियान, चैनपुरमा कोशेली घर सञ्चालन

कृषि ज्ञान केन्द्रको बझाङ चिनाउने अभियान, चैनपुरमा कोशेली घर सञ्चालन

‘स्थानीय उत्पादनलाई माया र बढावा दिऔँ, कृषि र किसानको गरिमा बढाऔँ’, भन्ने अभिप्रायका साथ कृषि ज्ञान केन्द्र बझाङले सदरमुकाम चैनपुरमा कोशेली घर सञ्चालनमा ल्याएको छ ।  गत मंगलबारदेखि सदरमुकाम चैनपरमा कोशेली घर सञ्चालनमा आएको छ । अब चैनपुरमा बझाङबासीले उत्पादन गरेको भटमास, फापर, भाँगो, जौँ, मकै, कोदो, टिम्मुर, गहतलगायतका  चिजवस्तु कोशेलीको रुपमा सहजै पाउन सकिने भएको छ । 


स्थानिय उत्पादन मार्फत बझाङलाई देश तथा विदेशमा चिनाउन कोशेली घर सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टको भनाइ छ । ‘भटमास, फापर, भाँगो, जौँ, मकै, कोदो, टिम्मुर, गहतलगायत स्थानिय उत्पादनलाई आगन्तुकहरु मार्फत बझाङको कोशेली स्वरुप दिनसके कृषकको आयआर्जनमा सहयोग हुन्छ । अन्य ठाउँबाट विभिन्न पर्याेजनका लागि बझाङ आउने महानुभावहरुले यहाँको स्थानिय उत्पादन के छ भनेर खोज्छन् । यहाँको उत्पादन एकै ठाउँमा उपलब्ध हुनसक्ने ठाउँको अभाव थियो । त्यसैलाई मध्यनजर गर्दै कोशेली घर सञ्चालनमा ल्याएका हौँ ।’ कार्यालय प्रमुख विष्टले भने । 

सदरमुकाम चैनपुरको चौराहमा उद्घाटन गरिएको कोशेली घरको व्यवस्थापन र सञ्चालन स्थानिय व्यवशायी बसन्त खड्काले गर्नेछन् । व्यवशायी खड्काले जिल्लाको उत्पादनलाई केन्द्रिकृत गरेर कोशेलीको रुपमा अन्य ठाउँमा पुर्याउने अवसर दिएकोमा कृषि ज्ञान केन्द्रप्रति आभार प्रकट गरे । 

बझाङको कृषि उत्पादनलाई प्रोत्साहन गर्नका लागि सञ्चालन गरिएको कोशेली घर व्यवस्थापन तथा सञ्चालनको लागि कृषि ज्ञान केन्द्र बझाङले रु ५ लाख अनुदान सहयोग गरेको छ । 

कोशेली घरको उद्घाटनमा जिल्ला समन्वय समिति संयोजक खडक खड्का, जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्री, बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्ट लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

कृषि ज्ञान केन्द्र बझाङ टेक बहादुर विष्ट कोशेली घर सञ्चालन

विशेष