News राजनीति

बामदेव गौतमको रोईलोः एमसीसी फिर्ता लान अमेरिकालाई आग्रह

बामदेव गौतमको रोईलोः एमसीसी फिर्ता लान अमेरिकालाई आग्रह

पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले एमसीसीका कारण नेपालको अहित हुने एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् । एमसीसीले नेपालमा जनमतको विभाजन हुने र यसले अहित गर्ने भन्दै उनले अमेरिकासँग यस्तो आग्रह गरेका हुन।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता गौतमले एमसीसीका कारण नेपालको छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने आशंका उत्पन्न भएको र एमसीसी सम्झौतापछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरेको जनाएका छन् । 

‘सम्झौताले गर्दा अमेरिकाप्रति नेपाली जनताले गम्भीर आशंका व्यक्त गरेका छन् । यसको कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आंच पुग्ने शंका गर्न थालिएको छ ’ उनले विज्ञप्तिमा भनेका छन्–‘उपरोक्त अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ ।’

उनले अमेरिकालाई एमसीसी परियोजना फिर्ता लैजान आग्रह गर्दै लेखेका छन्–‘‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिका सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु । यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रूपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवद्र्धन गर्न विनम्र अनुरोध गर्दछु।’

नेता गौतम नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत हुन। नेकपामा विभाजन आएपछि उनले आफै संयोजक भएर नेकपा एकता राष्ट्रिय अभियान सुरु गरेका थिए ।
 

वामदेव गौतम एमसीसी

विशेष