News

आलु उत्पादनमा आत्म निर्भर बन्दै बझाङ

आलु उत्पादनमा आत्म निर्भर बन्दै बझाङ

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बझाङलाई आलु उत्पादनमा आत्मनिर्भर जिल्ला बनाउने कामको अभियान थालनी गरेका छन् । सुदुरपश्चिम प्रदेश सरकारले २०७६ सालमै प्रदेशका सबै स्थानीय तहलाई सम्भावित बालीको पकेट क्षेत्र घोषणा गरिसकेतापनि बझाङले भने हालसम्म करिव १ करोडको आलु आयात गर्दै आएको छ । 

प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुदुरपश्चिमका दार्चुला, बाजुरा र बझाङ्ग स्याउ, ओखर, आलु खेतिको लागि राम्रो सम्भावना बोकेको जिल्ला हुन् । यधपी बझाङले वार्षिक करिव १ करोड २५ लाखको आलु आयात गर्दै आएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टले बताए । बझाङ आलुको लागि उपयुक्त जलवायु, माटो भएको जिल्ला भएतापनि यतिको रकममा आलु आयात गर्नु डरलाग्दो तथ्याङ्क भएको कार्यालय प्रमुख टेक बहादुर विष्ट बताउछन् ।
 


कार्यालय प्रमुख विष्ट बझाङ सरुवा भएर आउँदा आलु आयात गर्नुपर्ने बाध्यता देख्दा आफुलांई हिनता बोध भएको र सम्भावनालाई उजागर गर्न खोजेको बताउँछन् । उनी भन्छन्, ‘सरकारले बझाङलाई आलु उत्पादन हुने जिल्लाको सुचिमा राखेपनि उत्पादन नभएको हुनाले यसलाई मैले ‘हिट’ गर्न खोजेकै हो । मैले यसमा ठुलो मन गरेकै हो । कृषक दाजुभाईहरुलाई हामीलाई हिनता बोध हुनु पर्याे । हामी आलुको जिल्ला भन्ने । हाकिम हुने । गाडी चढ्ने तर किसानले बाहिरको आलु खानुपर्ने । कृषि ज्ञान केन्द्रले गर्ने सबै काम गर्छ तपाइहरु साथ दिनुस् भनेको छु । हाम्रो यो अभियान सफल भयो भने हामी बाहिरबाट आउने आलुलाई एक वर्षमै ७० प्रतिशतले रोक्न सक्छौँ । हाम्रा कृषक दाजुभाईहरुले यही तरिकाले साथ दिएभने अबको दुई वर्षमै बझाङलाई आलु उत्पादनमा आत्म निर्भर बनाउन सकिन्छ ।’

यसअघि पनि जिल्लामा आलु उत्पादनका लागि विभिन्न कार्यक्रम सञ्चालन भएपनि किसानले आलु कुन सिजनमा कसरी खेती गरिन्छ भन्नेबारे समेत जानकारी नभएको किसानहरुको भनाई छ । 


जयपथ्वी नगरपालिका–११ साइला बगरका सुर्जन खड्काले यसअघि परिवारका लागि मात्रै खानका लागि आलु लगाउने भए पनि अहिले भने खेती नै सुरु गरेको बताए । साथै उनले गहुँभन्दा पनि आलु खेतीले मनग्य आम्दानी हुने आशामा आलु खेती लगाएको जानकारी दिए । परियोजनाले सुनिगाडबाट पानी तान्ने पम्पसेट दिएपछि आलु खेती सिँचाइ गर्न निकै सहज भएको उनीहरुको भनाइ छ । अहिले कृषकले आलु खेतीसम्बन्धी प्रशिक्षण पनि लिँदै आएका छन् । 

जयपृथ्वी नगरपालिका ११ का किसान कवि खड्का भन्छन्, विगतमा पनि हामीले आलु खेती गथ्यौँ तर अहिलेको जसरी व्याड बनाएर रोपेका थिएनौ । यसरी रोप्नु पर्छ भन्ने जानकारी पनि थिएन । बजारमा पाइने आलु ल्यायर रोप्ने गथ्यौँ । खासै राम्रो उत्पादन हुदैन थियो । यसपाली कृषि ज्ञान केन्द्रले आधुनिक तरिकाले आलु रोप्न सिकाएको छ । राम्रो उत्पादन हुन्छ भन्ने आशा छ । 

किसानहरुले विगतमा आलु कसरी रोपिन्छ भन्नेवारेमा जानकारी समेत नभएको कार्यालय प्रमुख विष्टले स्विकार गरे । उनी भन्छन्, ‘उहाँहरुले आलु गलत सिजनमा लगाउनु हुन्थ्यो । किसानहरुले बजारमा तरकारीको रुपमा प्रयोग गरिने आलु ल्याएर लगाउने गर्थे । एक कुन्टल आलुको विउँ रोपेर दुई कुन्टल उत्पादन भएपनि किसानहरु सन्तुष्ट भएका देखिन्थे । एक कुन्टल आलुको विउँ राप्दा त्यसले कम्तिमा पनि १० कुन्टल उत्पादन दिनु पर्छ । अहिले हामीले विउँकै लागि तयार पारिएको आलु किसानलाई वितरण गर्दैछौँ । प्रत्येक वर्ष हामी बाहिबाट ४२ लाखको आलु ल्याउथ्यौँ तर यसै वर्ष हामी ४२ लाखको आलु अन्य जिल्लालाई दिदैँ छौँ ।’

आलु मिसन कार्यक्रम अन्तरगत असोजमा कृषि ज्ञान केन्द्रले जिल्लाको संस्युदेखि तलकोट गाउँपलिकाको भाटगाउँ सम्म २० रुपियाँ प्रति केजी अनुदानमा ४ सय कुन्टल वितरण गरेको थियो । 

आलु उत्पादन कृषि ज्ञान केन्द्र बझाङ आत्म निर्भर बझाङ

विशेष