News Breaking News मुख्य समाचार देश

चीनले नेपाली सीमा मिचेको नेपाल सरकारको प्रतिवेदन सार्वजनिक

चीनले नेपाली सीमा मिचेको नेपाल सरकारको प्रतिवेदन सार्वजनिक

चीनले नेपाली भूमि अतिक्रमण गरेको निष्कर्षसहितको प्रतिवेदन सीमा अध्ययन कार्यदलले नेपाल सरकारलाई बुझाएको खुलासा भएको छ । चीनले नेपाली सीमा मिचेको नेपाल सरकारको प्रतिवेदन अन्तर्राष्ट्रिय सन्चारमाध्यम बीबीसीले सार्वजनिक गरेको छ । चीनको तर्फबाट नेपाली सीमामा हस्तक्षेपभएको पहिलोपल्ट आधिकारिक दावी गरिएको हो ।

बीबीसी विश्व सेवाले आफूलाई प्राप्त प्रतिवेदनको हवाला दिंदै हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको जनाएको हो ।

नेपालको सरकारी स्तरबाट उत्तरी छिमेकीले सीमा मिचेको निष्कर्ष पहिलो पटक आएको पनि बीबीसीले उल्लेख गरेको छ। चीनले सीमा मिचेको भन्ने अपुष्ट खबरहरु सार्वजनिक भएपछि सरकारले गत असोजमा सरकारी अधिकारीहरु, विज्ञ र सुरक्षा निकायका प्रतिनिधिहरुसहितको कार्यदल बनाएको थियो । उक्त टोलीले स्थलगत निरीक्षणपछि सीमा अतिक्रमण भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

हुम्लामा चिनियाँ पक्षले नेपालतर्फ मिचेर भौतिक संरचना समेत बनाएको दाबी पनि प्रतिवेदनमा गरिएको बीबीसीले दाबी गरेको छ । तर नेपाल सरकारले उक्त प्रतिवेदन भने सार्वजनिक गरेको छैन । नेपाल र चीनबीच १४ सय किलोमिटर लामो सिमाना रहेको छ । तर बाह्रैमास हिउँले ढाकिने क्षेत्र धेरै भएकाले निरन्तर सीमा अनुगमन भने कठिन हुने गरेको छ ।

हुम्लाको लालुङजोङसहित सीमा क्षेत्रका नेपालीहरुलाई चिनियाँ सुरक्षाकर्मीले धार्मिक गतिविधिमा समेत प्रतिबन्ध लगाएको पनि प्रतिवेदनमा उल्लेख रहेको दाबी गरिएको छ ।

हिन्दु र बौद्धमार्गीहरुको आस्थाको केन्द्र कैलाश पर्वत नजिक पर्ने उक्त क्षेत्र हुँदै मानिसहरु धार्मिक यात्रा गर्ने गर्दछन् । तर, चीनले सोही क्षेत्रमा अग्लो पर्खाल लगाएको र नेपाली भूमि मिचेर सडक तथा खोल्सो बनाएको पनि प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ ।

प्रतिवेदनले नेपाल सरकारलाई सीमा क्षेत्रमा सुरक्षा पोस्टहरु राख्न सुझाव दिएको र नेपाली–चीन दुवै देशले यो विवाद समाधान गर्नुपर्ने सुझाव दिइएको छ । चिनियाँ बजारमा आश्रित सीमा क्षेत्रका नेपालीहरु भने सीमा मिचिएको विषयमा बोल्नै नचाहने पनि प्रतिवेदनमा उल्लेख गरिएको जनाइएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले सीमा मिचेको आरोपको खण्डन गरेको छ । बीबीसीको जिज्ञाशामा नेपाल सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआएको पनि समाचारमा उल्लेख गरिएको छ । यो प्रतिवेदन अहिलेसम्म गोप्य राखिनुको कारण थाहा नभएको बीबीसीले लेखेको छ ।
 

विशेष